• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हमासले आज राती विपिन जोशी लगायत सहित ४ जनाको शव इजरायललाई हस्तान्तरण गर्दै


  • धनकुटा खबर
  • .

हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको पुष्टि भएको छ। हमासको सैन्य शाखाले शुक्रबार सार्वजनिक गरेको सूचीमा विपिन जोशीसहित चार बन्धक मृतकको रूपमा नाम उल्लेख गर्दै शव इजरायललाई फिर्ता गर्ने घोषणा गरेको हो।

हमासले फिर्ता गर्न लागेको शवहरूमा नेपाली विद्यार्थी विपिन जोशीसँगै इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्। हमासले रेडक्रसका अधिकारीमार्फत आजै ती शवहरू इजरायलतर्फ बुझाउने जनाएको छ।

यसअघि आज बिहानै इजरायली प्रधानमन्त्री कार्यालय र सेनाले पनि जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली दूतावासलाई दिएका थिए। यो जानकारीसँगै जोशीका परिवार र नेपाली समुदायमा गहिरो शोक छाएको छ।

विपिन जोशीलाई २०८० असोज २३ गते हमासका लडाकूहरूले इजरायलको किबुट्ज अलुमिमबाट अपहरण गरेका थिए। उनी कृषि तालिमका लागि गएका १७ नेपाली विद्यार्थीमध्ये एक थिए। सो दिन भएको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने विपिन अपहरणमा परेका थिए।

गत महिना हमासले सार्वजनिक गरेको एक भिडियोमा विपिन जोशी जीवित देखिएका थिए। उनले आफ्नो नाम र देश बताउँदै सहयोगको अपिल गरेका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहँदै आएको थियो।

हमासले आज रेडक्रसको उपस्थितिमा आफ्नो नियन्त्रणमा रहेका २० जना बन्धक इजरायललाई फिर्ता गरेको छ। यससँगै दुई वर्षदेखि जारी युद्धविरामका प्रयासबीच विपिन जोशीको मृत्युसमाचारले युद्धको मानवीय त्रासदी पुनः उजागर गरेको छ।

नेपाल सरकारले विपिनको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारप्रति समवेदना प्रकट गरेको छ। विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै “विपिन जोशीको बलिदानले नेपाली श्रमिक र विद्यार्थीको सुरक्षाबारे अन्तर्राष्ट्रिय स्तरमा गम्भीर सोच आवश्यक छ” भनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖