• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इजरायलले नेपाली विद्यार्थी विपिन जोशीको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण


  • धनकुटा खबर
  • .

इजरायलको विदेश मन्त्रालयले नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ। मन्त्रालयले सामाजिक सञ्जालमा उनको तस्बिरसहित सन्देश प्रकाशन गर्दै लेखेको छ— “विपिन जोशी अब हामीमाझ रहनुभएन, तर उनको शव फर्किएको छ र अब उनीलाई सम्मानपूर्वक अन्तिम बिदाइ गर्न सकिन्छ।”

इजरायली विदेश मन्त्रालयले विपिनको मृत्युबारे लेख्दै भनेको छ, “७३८ दिनको हमासको बन्दी अवस्थापछि उनको शव इजरायलमा फर्काइएको छ। उनी २५ वर्षका नेपाली विद्यार्थी थिए, जो सन् २०२३ अक्टोबर ७ मा किबुज एलुमिमबाट अपहरणमा परेका थिए।”

विपिन जोशी लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए। आक्रमण हुनुभन्दा करिब तीन हप्ता अघि मात्र उनी त्यहाँ पुगेका थिए। मन्त्रालयले विपिनलाई “सपना र खुसीले भरिएको युवा, कृषिविज्ञानमा रुचि राख्ने विद्यार्थी र संगीत प्रेमी” भनेर उल्लेख गरेको छ।

सन्देशमा भनिएको छ, “विपिनको जीवन निर्दयतापूर्वक समाप्त पारियो, तर उनको सम्झना सदैव रहिरहनेछ। हामी जोशी परिवारको गहिरो दुःखमा सहभागी छौं। विपिनको सम्झना सधैं आशीर्वादको रूपमा रहोस्।”

विपिनको शव हालै इजरायलमा फिर्ता गरिएको छ र स्थानीय फरेन्सिक जाँचपछि उनको अन्तिम संस्कार गरिने तयारी भइरहेको छ। यो खबरले नेपाल र इजरायल दुवै देशमा शोकको माहोल ल्याएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖