• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बेलायतमा रेलभित्र हुने यौनजन्य अपराधमा वृद्धि


  • धनकुटा खबर
  • .

लन्डन । बेलायतमा रेलभित्र हुने यौन अपराधका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ। गत वर्ष मात्र २ हजार ६ सय ६१ घटना दर्ता भएका थिए, जसमा करिब १० प्रतिशत पीडित बालबालिका थिए । तीमध्ये कतिपयको उमेर १३ वर्षभन्दा कम रहेको उल्लेख छ ।

बीबीसीद्वारा गरिएको एक अनुसन्धान अनुसार पछिल्लो १० वर्षमा इंग्ल्यान्ड, स्कटल्याण्ड र वेल्सभर यौन अपराधका घटनामा झन्डै ३७ प्रतिशतले वृद्धि भएको देखिएको हो ।

ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले यस्ता घटनामा आएको वृद्धिलाई ‘गम्भीर चिन्ताको विषय’ बताउँदै हरेक उजुरी गम्भीरताका साथ लिइने जनाएको छ। त्यस्तै, रेल सञ्चालन गर्ने कम्पनीहरूको प्रतिनिधि संस्थाले पनि ‘यौन दुर्व्यवहारप्रति शून्य सहनशीलता नीति’ लागू गरिएको स्पष्ट पारेको छ।

वेल्सकी १८ वर्षीय रिह्यानोन विलियम्सले यसै वर्ष रेल यात्राको क्रममा आफूलाई केही पुरुष समूहले दुर्व्यवहार गरेको बताइन् । ‘त्यो क्षण निकै डर लाग्दो थियो’, उनले भनिन्, ‘रेलभित्र हुँदा कतै भाग्न सकिँदैन, त्यसैले सहेर बस्नुपर्‍यो ।’

प्रहरीका अनुसार यौन अपराधमा बलात्कार, यौन दुर्व्यवहार वा उत्पीडन जस्ता गतिविधि मात्र नभई निरन्तर हेरिरहनु, अशोभनीय प्रश्न वा होच्याउने टिप्पणी गर्नु पनि उत्पीडनकै स्वरूप मानिन्छ । तर, प्रहरीको भनाइमा, यस्ता घटनामध्ये धेरैजसो उजुरी दर्ता नहुने हुँदा वास्तविक अवस्थाभन्दा समस्या अझ गम्भीर बनेको छ।

बीबीसीले प्राप्त तथ्यांकअनुसार विगत १० वर्षमा २२ हजारभन्दा बढी यौन अपराधका उजुरी दर्ता भए पनि तीमध्ये आधाभन्दा बढीमा आरोपीको पहिचान गर्न सफलता मिलेको जनाइएको छ ।

बेलायत सरकारले यस्ता अपराध नियन्त्रणका लागि १७ मिलियन पाउन्ड अनुदान उपलब्ध गराएको छ । उक्त रकमबाट रेल स्टेसनहरूमा सीसीटीभी पहुँच विस्तार र अपराधी पहिचान प्रक्रियालाई द्रुत बनाउन सहयोग पुग्ने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖