• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इजरायलले राष्ट्रिय सम्मान सहित विपिन जोशीको अन्तिम बिदाइ दियो,किब्बुट्ज अलुमिमका नायक’का रूपमा सम्मान


  • धनकुटा खबर
  • .

हमासद्वारा अपहरण गरी हत्या गरिएका नेपाली विद्यार्थी बिपिन जोशीलाई इजरायलले राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ गरेको छ। आइतबार बिहान तेल अविभस्थित बेन–गुरिओन विमानस्थलमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा जोशीलाई ‘किब्बुट्ज अलुमिमका नायक’का रूपमा सम्मान गरिएको हो। श्रद्धाञ्जलिपछि उनको शव नेपाल पठाइएको छ।

२३ वर्षका जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किब्बुट्ज अलुमिम क्षेत्रबाट अपहरण गरेको थियो। उनी “लर्न एण्ड अर्न” कार्यक्रमअन्तर्गत इजरायलमा कृषि अध्ययन र काम गर्न गएका थिए। आक्रमणका क्रममा उनले साथीहरूलाई जोगाउने प्रयास गरेको र पहिलो ग्रिनेड फर्काएर फ्याँकेर केहीको ज्यान बचाएको बताइन्छ। दोस्रो विस्फोटपछि बेहोस भएका जोशीलाई हमासले थाइल्यान्डका केही कामदारहरूसँगै गाजामा अपहरण गरेको थियो।

श्रद्धाञ्जलि समारोहमा इजरायलका बन्धक तथा बेपत्ता व्यक्तिका सरकारी समन्वयकर्ता गल हिर्स, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, तेल अविभस्थित नेपाली दूतावासका अधिकारी तथा जोशी कार्यरत किब्बुट्ज अलुमिमका सदस्यहरूको उपस्थिति थियो।

समारोहमा बोल्दै गल हिर्सले भने, “यो अन्त्य यस्तै हुनुपर्ने थिएन। बिपिन अब हाम्रो समुदायको हिस्सा बनेका छन्। आज प्रत्येक इजरायलीले उनको नाम र कथा जान्दछ — उनी अब हाम्रो राष्ट्रिय स्मृतिमा सदाको लागि रहन्छन्।”

स्दोट नेगेभ क्षेत्रीय परिषदका प्रमुख तामिर इदानले भने, “प्रत्येक व्यक्तिको आत्मा संसार उज्यालो पार्ने दीप हो, बिपिन त्यही उज्यालो थिए — टाढाबाट आएका एक युवा, जसले अध्ययन र मेहनतमार्फत उज्वल भविष्य बनाउन खोजेका थिए। उनी घर फर्कन पाएनन्, तर उनको प्रकाश यो भूमिमा र हाम्रो हृदयमा सदैव रहिरहनेछ।”

जोशीको परिवारले अन्तिम सन्देशका रूपमा उनले पठाएको शब्द स्मरण गर्दै भनेका छन्, “बिपिनले भनेका थिए — ‘यदि मलाई केही भयो भने, परिवारको हेरचाह गर्नुहोस्, बलिया बनिरहनुहोस्।’ हामीले त्यो विश्वास कहिल्यै गुमाएका थिएनौं।”

हमासको कब्जामा रहँदा बिपिन जीवित रहेको भिडियो गत वर्ष सार्वजनिक भएको थियो। तर गत हप्ता इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गर्दै परिवारलाई जानकारी गराएका थिए। परिवारले विज्ञप्तिमा भनेको छ, “हाम्रो प्रिय बिपिन — हाम्रा छोरा, दाजु र गर्व — हमासको बन्दी अवस्थामा हत्या गरियो। उनले भविष्यका सपना बोकेर इजरायल आएका थिए, तर त्यो आलिङ्गन नै अन्तिम भयो।”

परराष्ट्र मन्त्रालयका अनुसार बिपिन जोशीको शव सोमबार नेपाल आइपुग्नेछ। काठमाडौंमा विशेष श्रद्धाञ्जलि पश्चात् उनको अन्त्येष्टि गरिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖