• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इजरायलबाट विपिन जोशीको शव बोकेर उडान भरेको विमान आज दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने


  • धनकुटा खबर
  • .

हमासको कब्जामा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज दिउँसो नेपाल ल्याइँदैछ। २३ वर्षीय विपिनको शव लिएर इजरायलबाट उडान भरेको विमान आज दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय गरिएको छ।

नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासका अनुसार पार्थिव शरीर बुझ्ने सम्पूर्ण तयारी पूरा भएको छ।

प्रधानमन्त्री सुशीला कार्की विमानस्थलमै उपस्थित भएर विपिनको पार्थिव शरीरमा राष्ट्रिय श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

यसअघि आइतबार इजरायलको तेल अविभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली सरकारका तर्फबाट विपिनलाई औपचारिक बिदाइ कार्यक्रम गरिएको थियो। कार्यक्रममा इजरायली बन्धक मामिला समन्वयकर्ता गल हिर्स, परराष्ट्र मन्त्रालयका उपमहानिर्देशक एइनात स्लाइन, नेपाली दूतावासका पदाधिकारी, स्थानीय किब्बुट्ज अलुमिमका बासिन्दा र नेपाली समुदाय सहभागी थिए।

गल हिर्सले विपिनको सम्झनामा दियो बाल्दै भने, “विपिन कुशल विद्यार्थी, असल व्यक्ति र वीर थिए। उनले अरूको ज्यान बचाउन संघर्ष गरे, तर अन्ततः बन्धक अवस्थामै ज्यान गुमाए।”

विपिन जोशी मासाभको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलको दक्षिणी भागमा काम र अध्ययनका लागि पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले किब्बुट्ज अलुमिममा गरेको आतंककारी आक्रमणका क्रममा उनी बन्धक बनेका थिए। घटनाको बेला उनले ग्रिनेड फ्याँकेर आफ्ना साथीसँगै रहेका दुई नेपालीको ज्यान बचाएका थिए। त्यसपछि उनलाई आतंककारीहरूले अपहरण गरी गाजामा लगेका थिए।

हमासले केही दिनअघि मात्र विपिनसहित चार बन्धकको मृत्यु भइसकेको जानकारी दिएपछि इजरायली सेनाले डीएनए परीक्षणमार्फत उनको मृत्यु पुष्टि गरी शव नेपाल पठाउने तयारी गरेको थियो।

विपिनको परिवारले विगत एक वर्षदेखि उनको रिहाइका लागि अन्तर्राष्ट्रिय अपिल गर्दै आएको थियो। उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र मन्त्रीहरूसँग भेटी छोरा सुरक्षित फिर्ता ल्याउन आग्रह गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖