रुस–युक्रेन युद्धमा सहभागी रुसी सेनामा भर्ती भएका नेपालीहरूको मृत्यु संख्या १०१ पुगेको पुष्टि भएको छ। रुसको रक्षा मन्त्रालयले नेपाली राजदूतावासमार्फत पठाएको पछिल्लो विवरणअनुसार थप ३० जनाको मृत्यु भएको र १२५ जना अझै बेपत्ता रहेको जानकारी नेपाल सरकारले प्राप्त गरेको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, ४१ जनाका परिवारको डिएनए परीक्षण गरेर विवरण रुस पठाइएको थियो, जसमा अधिकांशको मृत्यु पुष्टि भएको छ। “रुसमा रहेका १०१ जना नेपाली नागरिकको मृत्यु पुष्टि भएको छ। १२५ जनाको अवस्था अज्ञात छ,” प्रवक्ता क्षेत्रीले भने।
परराष्ट्र मन्त्रालयका अनुसार, हालसम्म ३५० भन्दा बढी परिवारले आफन्त खोजिदिन आग्रह गर्दै निवेदन दर्ता गराएका छन्। मृतकका परिवारमध्ये दुईजनाले क्षतिपूर्ति पाएको अपुष्ट जानकारी भए पनि नेपाल सरकारलाई औपचारिक सूचना प्राप्त नभएको मन्त्रालयले जनाएको छ।
मृत्यु भएका मध्ये पाँचजनाको अस्तु मात्रै नेपाल ल्याइएको छ। फागुन ०८० मा परिवारको सहमतिमा तीनजना नेपालीको दाहसंस्कार रुसमै गरिएको थियो। नेपाल सरकारले रुस सरकारलाई मृतकको शव पठाउन, नयाँ भर्ती रोक्न र परिवारलाई क्षतिपूर्ति दिन कूटनीतिक च्यानलमार्फत आग्रह गरिसकेको छ।
प्रवक्ता क्षेत्रीले भने, “रुस सरकारलाई नेपालीहरूलाई सेनामा भर्ती नगर्न आग्रह गरिसकिएको छ। अहिले नयाँ भर्ती भइरहेको छैन भन्ने जानकारी पाएका छौँ।”
तर, रुसी नागरिकता लिएका केही पूर्वनेपालीहरूले भने सेनामा सेवा नवीकरण गरिरहेका सूचनाहरू आएको परराष्ट्रका एक अधिकारीले बताएका छन्। उनका अनुसार, ती व्यक्तिहरू बिदामा नेपाल आउने–जाने क्रममा छन्, र कतिपयले परिवार समेत रुस लगिसकेका छन्।
नेपाल सरकारले विगतका सन्धिका आधारमा बेलायती र भारतीयबाहेक अन्य देशका सेनामा नेपाली भर्तीका लागि अनुमति नदिइएको पुनः स्पष्ट पारेको छ।-नयां पत्रिका
