• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चलिरहेको रेलभित्र दुई पुरूषले अरू यात्रुमाथि अन्धाधुन्ध चक्कु हान्न थालेपछि…


  • धनकुटा खबर
  • .

इंग्ल्याण्डमा चलिरहेको रेलभित्र दुई पुरूषले त्यहाँ सवार यात्रुहरूमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका छन्।

शनिबार स्थानीय समयअनुसार साँझ ७:३९ मा डनकास्टरबाट लन्डन किंग्स क्रस जाँदै गरेको रेलभित्र यात्रुहरूमाथि अन्धाधुन्ध चक्कु प्रहार भएको हो।
घटनामा १० जना घाइते भएको बिबिसीले जनाएको छ।

घाइतेमध्ये ९ जनाको अवस्था अत्यन्त गम्भीर रहेको पनि ब्रिटिस ट्रान्सपोर्ट पुलिसले जनाएको छ।

रेल क्याम्ब्रिजशायर पुगेपछि चक्कु प्रहार हुन थालेको थियो।
दुई पुरूषले सामान्यभन्दा ठूलो आकारको चक्कु निकालेका थिए। त्यसपछि वरपर रहेका यात्रुहरूमाथि अन्धाधुन्ध प्रहार गर्न थालेको भनेर प्रत्यक्षदर्शीहरूले प्रहरीलाई बताएका छन्।

रेलमा चक्कु प्रहार हुन थालेपछि अवस्था भयावह र तनावपूर्ण बनेको थियो।

पछि हन्टिङडन स्टेशनमा रेललाई आपतकालीन रूपमा रोकेपछि प्रहरी प्रवेश गरेको थियो।

त्यसपछि त्यहाँ ठूलो संख्यामा एम्बुलेन्स र प्रहरीका गाडी देखिएका थिए।

घाइतेहरूलाई हवाई एम्बुलेन्समार्फत पनि उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

ब्रिटिस ट्रान्सपोर्ट पुलिसका प्रमुख सुपरिटेन्डेन्ट क्रिस कासीले दुई पुरूषलाई विद्युतीय हतियार टेजर प्रयोग गरी नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

प्रहरीले नियन्त्रणमा लिए पनि उनीहरुको नाम र परिचय सार्वजनिक गरिएको छैन।

त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रमुख सुपरिटेन्डेन्ट कासीले बिबिसीलाई बताएका छन्।

घटनाको अनुसन्धानका लागि आतंकवाद विरूद्धको विभाग पनि खटिएको छ।

अहिले उक्त रूटमा रेल सेवा बन्द भएको पनि बिबिसीले जनाएको छ।
बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले यसलाई भयानक घटना भन्दै निन्दा गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖