• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

दिल्लीको लाल किल्लामा विस्फोट : सिसिटिभीमा यस्तो देखियो कार


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर-१ नजिक सोमबार साँझ गुडिरहेको एक कारमा शक्तिशाली विस्फोट भएको छ। साँझ ६:५२ बजे भएको यस विस्फोटमा दुई महिलासहित नौ जनाको मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ । घटनामा २४ जना घाइते भएका छन्।

मंगलबार विस्फोट हुनुभन्दा ठिक अघिको सिसिटिभी फुटेज सार्वजनिक भएको छ, जसमा एउटा सेतो रङ्गको आई-२० कार पार्किङबाट बाहिर निस्किरहेको देखिन्छ। यो कारमा डा. मोहम्मद उमर रहेको आशङ्का गरिएको समाचारमा उल्लेख छ।

प्रहरीका अनुसार उमर फरीदाबाद मोड्युलको सदस्य हुन सक्छन्। केही समयअघि जम्मु-कस्मिर प्रहरीले हरियाणाको फरिदाबाददेखि लखनउसम्म अभियान चलाएर २ हजार ९०० किलोग्राम विस्फोटक पदार्थ (सन्दिग्ध अमोनियम नाइट्रेट) जफत गरेको थियो। सो कारबाहीमा फरिदाबादबाट डाक्टर मुजम्मिल शकिल र लखनऊबाट महिला डाक्टर शाहीन शाहिदलाई पक्राउ गरिएको थियो।

दिल्ली प्रहरीको स्पेसल सेलका स्रोतहरूका अनुसार, डा. उमर पार्किङमा रहेको आई-२० कारमा झन्डै साढे दुईदेखि तीन घण्टासम्म बसिरहेका थिए। उनी एक पटक पनि कारबाट बाहिर निस्किएनन्। प्रहरी स्रोतका अनुसार, डा. उमर या त कसैको प्रतीक्षा गरिरहेका थिए वा पार्किङमा कुनै निर्देशनको पर्खाइमा थिए।

दिल्ली प्रहरीले लाल किल्ला नजिक भएको विस्फोटको सम्बन्धमा ‘गैरकानुनी गतिविधि रोकथाम ऐन’ (यूएपीए) अन्तर्गत एफआईआर दर्ता गरेको छ। सुरक्षा एजेन्सीहरूले आत्मघाती आक्रमणको कोणबाट पनि अनुसन्धान सुरु गरेका छन्। यद्यपि, घटनास्थलबाट आरडीएक्सको कुनै प्रमाण भेटिएको छैन।

मृत्यु हुनेहरूको उमेर २१ देखि ५८ वर्षबिच रहेको छ। मृतकहरूमध्ये दुई जनाको मात्र पहिचान हुन सकेको छ। विस्फोटमा परेका मानिसहरू नराम्ररी जलेका छन्, र केहीको शरीरका टुक्राहरू टाढासम्म छरिएका थिए।

विस्फोट कारको पछिल्लो भागमा भएको थियो, जसको आवाज करिब एक किलोमिटरसम्म सुनिएको थियो। विस्फोटका कारण घटनास्थल नजिकै पार्क गरिएका ६ वटा कार, २ वटा ई-रिक्सा र १ वटा अटो रिक्सा जलेका छन्।

प्रहरीका अनुसार जुन कारमा विस्फोट भयो, त्यसमा तीन जना सवार थिए। उक्त कार हरियाणाको गुरुग्राममा सलमानको नाममा दर्ता थियो। प्रहरीले सलमानलाई नियन्त्रणमा लिएको छ।

सलमानले उक्त कार पुलवामाका तारिकलाई बेचेको बताएका छन्। प्रहरी तारिकको खोजी गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖