• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

‘भाग्य बताउने’ आमा-छोरीमाथि ७ करोड अस्ट्रेलियन डलर ठगी गरेको आरोप


  • धनकुटा खबर
  • .

सिड्नी । अस्ट्रेलियामा ‘भाग्य बताउने’ आमा-छोरीको जोडीमाथि करिब ७ करोड अस्ट्रेलियन डलर ठगी गरेको आरोप लागेको छ। उनीहरूले अस्ट्रेलियामा रहेका भियतनामीहरूलाई लक्षित गरी ठगी गरेको बताइएको छ।

५३ वर्षीया आमा र २५ वर्षीया छोरीलाई बुधबार सिड्नीको डोभर हाइट्सस्थित उनीहरूको घरबाट पक्राउ गरिएको थियो। प्रहरीले उनीहरूलाई अत्यन्तै परिष्कृत ठगी तथा सम्पत्ति शुद्धीकरण सिन्डिकेटको अभिन्न हिस्सा भएको बताएको छ।

आमाले पीडितहरूलाई भविष्यमा एक अर्बपतिले सहयोग गर्ने भविष्यवाणी गरेर ऋण लिन मनाउने र त्यसको एक हिस्सा आफैँ राख्ने गरेको आरोप छ। उनलाई जमानत दिन अस्वीकार गरिएको छ भने उनी बिहीबार अदालतमा उपस्थित हुनेछिन्। उनकी छोरीलाई भने जमानतमा रिहा गरिएको छ । उनी जनवरीमा अदालतमा उपस्थित हुनेछिन्।

आमामाथि आपराधिक समूहको गतिविधि निर्देशित गरेको र बेइमानीपूर्वक छल गरेर वित्तीय लाभ प्राप्त गरेको लगायत ३९ वटा आरोप लागेका छन्। छोरीमाथि भने अपराधको आम्दानीसँग लापरबाहीपूर्ण व्यवहार गरेको लगायत सातवटा आरोप लगाइएको छ।

पक्राउका क्रममा प्रहरीले वित्तीय कागजात, मोबाइल फोन, महँगा ह्यान्डब्यागहरू, १० हजार अस्ट्रेलियन डलर मूल्यको ४० ग्राम सुनको डन्डी र ६ हजार ६०० अस्ट्रेलियन डलरको क्यासिनो चिप्स बरामद गरेको छ।

प्रहरीका अनुसार आमा समुदायमा प्रभावशाली र विश्वासिलो सदस्य थिइन् । उनले पीडितहरूलाई ऋण लिएमा एक अर्बपतिले छिट्टै सहयोग गर्ने भविष्यवाणी गर्थिन्।

यस सिन्डिकेटबारेको बृहत् अनुसन्धान गत वर्ष सुरु भएको थियो। प्रहरीले यस समूहको गतिविधिमा ठूला परिमाणमा व्यक्तिगत, व्यावसायिक र घर ऋण ठगी’समावेश रहेको दाबी गरेको छ। यो सिन्डिकेटले प्रमुख अस्ट्रेलियाली बैंकहरूलाई करिब २५० मिलियन अमेरिकी ठगी गरेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖