काठमाडौं । मोडल तथा अभिनेत्री एलिजा गौतम ‘जनादेश पार्टी’ को उपाध्यक्ष बनेकी छन् । मंगलबार रमणकुमार कर्ण नेतृत्वमा उक्त दलले निर्वाचन आयोगमा निवेदन दिएको छ ।
७५ केन्द्रीय सदस्य रहेको उक्त पार्टीको पदाधिकारीको विवरण निर्वाचन आयोगमा बुझाइएको छ ।
एलिजाले आफू उक्त दलको उपाध्यक्ष रहेको जानकारी सामाजिक सञ्जालबाट गराएकी छन् । निवेदन दिन निर्वाचन आयोगमा पुगेकी एलिजाले फोटो पनि सार्वजनिक गरेकी छिन् ।
‘भ्रष्टाचार नियन्त्रण र सुशासनको उद्देश्य लिएर हामीले पार्टी गठन गरेका हौं’ एलिजाले अनलाइनखबरसँग भनिन् । फिल्म ‘अनुराग’ की निर्मात्री तथा अभिनेत्री रहेकी एलिजाले केही म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । उनले अन्य केही फिल्ममा समेत साइन गरेकी थिइन्, ती प्रोजेक्ट बन्न सकेन ।
‘अबको मेरो समय पार्टीको काममा बित्नेछ’ उनले भनिन् । कलाकारितामा आफू तत्काल फर्किने योजनामा नरहेको उनले बताइन् ।
