क्यालिफोर्निया । गत क्रिसमसमा क्यालिफोर्नियामा आफ्नी दिवंगत आमाको घरको बुइँगल सफा गर्ने क्रममा तीन जना दाजुभाइले जीर्ण अखबारहरूको थुप्रोमुनि जीवन परिवर्तन गरिदिने एउटा कुरा भेट्ट्याए । त्यो थियो, ‘सुपरम्यान’को पहिलो कमिक्समध्ये एक प्रति।
सन् १९३९ को जुन महिनामा प्रकाशित म्यान अफ स्टिलको साहसिक कथाको यो पहिलो संस्करणको मूल प्रति असाधारण रूपमा सफा अवस्थामा थियो। अहिले यो कमिक्स पुस्तक लिलामीमा ९.१२ मिलियन डलर (करिब १ अर्ब ३० करोड रुपैयाँ) मा बिक्री भई हालसम्मको सबैभन्दा महँगो कमिक्स बनेको छ।
टेक्सासस्थित हेरिटेज अक्सन्सले यसलाई कमिक्स सङ्कलनको शिखर भनेको छ। दाजुभाइले पुरानो अखबारको थुप्रोमुनि एउटा बट्टामा जेलिएको अवस्थामा ‘सुपरम्यान #१’ सहित छवटा कमिक्सहरू फेला पारेका थिए।
दाजुभाइले आफ्नो नाम गोप्य राख्ने निर्णय गरेका छन्। हेरिटेजका उपाध्यक्ष लोन एलेनका अनुसार उनीहरू ५० र ६० को दशकका छन् र उनकी आमाले सधैँ आफूसँग महँगो कमिक्स सङ्ग्रह भएको तर कहिल्यै नदेखाएको बताउँथिन्। उत्तरी क्यालिफोर्नियाको मौसमले गर्दा यो पुरानो कागज सुरक्षित रहन सहयोग पुग्यो।
कमिक्सलाई कमिक्स ग्रेडिङ सेवा (सीजीसी) ले १० मध्ये ९.० मूल्याङ्कन दिएको छ। यसले अघिल्लो रेकर्ड ८.५ लाई उछिनेको छ। ९० लाख डलरभन्दा बढीको बिक्री मूल्यमा ‘सुपरम्यान #१’ ले यसअघिको सबैभन्दा महँगो कमिक्स ‘एक्सन कमिक्स नम्बर १’ (जुन गत वर्ष ६० लाख डलरमा बिक्री भएको थियो) लाई सजिलै ३० लाख डलरले पछि पारेको छ।-बीबीसी
