• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चीनले जापानी लडाकु विमानको फायर कन्ट्रोल राडार नै लक गरिदिएपछि…


  • धनकुटा खबर
  • .

टोकियो । जापानले आफ्ना लडाकु विमानको फायर कन्ट्रोल राडारलाई चिनियाँ लडाकु विमानले ‘लक’ गरिदिएको आरोप लगाएको छ ।

उक्त घटना शनिबार भएको जापानले जनाएको छ । ओकिनावा द्वीप नजिकै अन्तर्राष्ट्रिय जल क्षेत्रमा उक्त घटना भएको जापानको आरोप छ ।

लडाकु विमानको फायर कन्ट्रोल राडार लकलाई क्षेप्यास्त्र प्रहार गर्नु अघिको चरणका रूपमा लिइन्छ । युद्धका क्रममा दुश्मन पक्षको लडाकु विमानको फायर कन्ट्रोल राडार लक गरेपछि मात्र त्यसलाई निशाना बनाएर क्षेप्यास्त्र प्रहार गरिन्छ ।

जापानी अधिकारीका अनुसार चिनियाँ ‘जे–१५’ फाइटर जेटले जापानको एयर सेल्फ डिफेन्स फोर्सको विमानलाई दुई पटक फायर कन्ट्रोल राडार लक गरेको हो । यद्यपि उक्त घटनामा कुनै प्रकारको क्षति नभएको जापानी रक्षा मन्त्रालयले जनाएको छ ।

उक्त घटनालाई लिएर जापानले चीनसमक्ष कडा आपत्ति प्रकट गरेको छ ।

चीनले भने जापानको आरोपलाई अस्वीकार गरेको छ । आफूले सैन्य अभ्यास गरिरहेको समयमा जापानी लडाकु विमानले पटक–पटक घुसपैठ गरेको चीनको आरोप छ ।

चीन र जापानबिच पछिल्लो समय सम्बन्ध थप चिसिएको छ । ताइवानको विषयलाई लिएर दुई मुलुकबिच सम्बन्ध थप चिसिएको हो । जापानी प्रधानमन्त्रीले चीनद्वारा ताइवानमा सैन्य कारबाही गरिएमा जापानले आफ्नो सेनालाई पठाउने बताएपछि चीनले कडा आपत्ति जनाएको थियो । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖