• Monday 5th of October 2026

रोडिजमा कविता नेपालीले कपालको चुल्ठो काटिदिएको घटनाको वास्तविकता के हो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । हिमालय रोडिजको सातौं सिजनमा अहिले सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनल प्रतिस्पर्धा रोचक रह्यो । ‘डू अर डाई’ शैलीको क्वार्टरफाइनल प्रतिस्पर्धा चर्चित पनि बनेको छ ।

हिमालय रोडिजले पहिलोपटक दुईजना केटा र दुईजना केटी प्रतिस्पर्धीलाई सेमिफाइनलिस्टको रुपमा पाएको छ ।

हामी यहाँ अहिले सामाजिक सञ्जालमा चर्चा भैरहेको क्वार्टरफाइनल प्रतिस्पर्धाअन्तर्गत दिइएको एक टास्कको कुरा गर्दैछौं । जुन टास्कको छोटो क्लिप अहिले भाइरल बनिरहेको छ ।

उक्त क्लिपकै आधारमा एकजना ग्याङ लिडर कविता नेपालीले गाली खाइरहेकी छिन् । कविता स्वयमले सामाजिक सञ्जालबाट यसको प्रष्टीकरण दिनुपरेको छ । लाइभमै आएर उनले यथार्थ बताउने जनाएकी छिन् । मान्छेले यथार्थ नबुझिकन आफूमाथि गाली बर्साएकोमा उनको चिन्ता छ ।

उनी लेख्छिन्, ‘एउटा छोटो, सम्पादित क्लिप पूर्ण सन्दर्भ बिना नै सेयर गरिएको छ, र मानिसले उनीहरूलाई देखाइएको कुराको आधारमा मात्र धारणा बनाइरहेका छन् । त्यो क्लिपमा वास्तविक अवस्था र मेरा प्रयासहरू देखाइएको छैन ।’

‘म यहाँ आफूलाई पुष्टि गर्न आएकी होइन । यो ती मानिसका लागि हो, जसले साँच्चै मेरो ख्याल राख्छन् । म भोलि तपाईंको लागि सामाजिक लाइभमा हुनेछु । घृणा गर्नेहरूलाई, तपाईं जे चाहनुहुन्छ त्यही गर्नुहोस् । तपाईंको विचारले मलाई असर गर्दैन’ उनी लेख्छिन् ।

सेयर भएको क्लिपमा क्वार्टरफाइनल टास्कको क्रममा कविताले रितिका नामक प्रतिस्पर्धीको कपालको चुल्ठोलाई कैंचीले काटिदिएको देखिन्छ । चुल्ठो काँडेतारमा अल्झिएपछि कविताले त्यसलाई काटिदिन्छिन् ।

त्यसपछि रितिका कपाल काटिएको बारे भन्छिन्, ‘कपाल काट्नै लेख्या रैछ यार । यत्रो वर्षभरि काटिएन काटिएन हैन । ठीकै छ ।’

त्यसपछि कविता भन्छिन्, ‘कपाल काटेर स्याक्रिफाइस भएर तिमीलाई गाह्रो भएको छ भनेदेखि, लाइफमा तिम्रो लागि एकदमै राम्रो लेसन म भन्दैछु, मान्छेहरूले आफ्नो फ्यामिलीसँग टाढा बसेर, फ्यामिलीको माया सेक्रिफाइस गरिराख्या हुन्छ । कसैले पैसा सेक्रिफाइस गरिराख्या हुन्छ । टाइम, लभ सब कुरा सेक्रिफाइस गर्छ । आफूले चाहेको कुरा पाउनको लागि । यदि तिमीले ठूलो कुरा पाउन गैरहेका छौ भने तिमीले त्याग गर्नुपर्छ ।’

रितिकाले कविताको टिमबाट रोडिजमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, उनी सेमिफाइनलमा प्रवेश गर्नबाट बञ्चित भइन् ।

निर्देशक सिमोस सुनुवारले यो कुरालाई गलतरुपमा लिन नमिल्ने बताए । ‘टास्क गर्दाखेरी काँडेतारमा कपाल अड्किएको थियो । पहिले पनि कपाललाई भित्र हाल्नु भनेको थियो । छोटो कपाल भएकाको त अड्किएको थिएन’ उनले भने ।

‘रितिका राम्रो प्रतिस्पर्धी हुन् । जसले गर्दा जित्नैपर्ने दबाब उनीमाथि थियो’ सिमोस भन्छन्, ‘उनी हारिन् । राम्रो भएन । कपाल काटेरै सेमिफाइनलमा पुगेको भए राम्रो हुने थियो । यो कुरालाई नेगेटिभरुपमा लिनुभएन ।’

सिमोसका अनुसार, रितिका कपाल काटेपनि खुसी देखिएकी थिइन् । सातौं सिजनको फिनाले २९ डिसेम्बरमा हुनेछ । हिमालय रोडिज हिमालय टिभीमा प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖