काठमाडौँ । क्रिकेटमा कीर्तिमान बन्ने र तोड्ने क्रम चलिरहन्छ । यसै क्रममा एक बलरले एकै ओभरमा पाँच विकेट लिने खेलाडीको सूचीमा आफ्नो नाम लेखाएका छन् ।
इन्डोनेसियाका तीव्र गतिका बलर गेडे प्रियंदानाले बालीमा मंगलबार कोलम्बियाविरुद्धको टी–२० म्याचमा एकै ओभरमा पाँच विकेट लिएका हुन् ।
२८ वर्षीय प्रियंदानाले म्याचको दोस्रो इनिङको १६औँ ओभरमा यस्तो दुर्लभ उपलब्धि हासिल गरेका हुन् । ओभर सुरुवात गर्दै उनले लगातार तीन बलमा शाह अब्रार हुसेन, निर्मलजीत सिंह र चान्थोउन रठंनकलाई पवेलियन फर्काएर ह्याट्रिक पूरा गरे । त्यसपछि एक बल ‘डट’ फालेका उनले पाँचौँ र छैटौँ बलमा मोंगडारा शोक र पेल भेन्नाकलाई ‘आउट’ गरे ।
अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने प्रियंदाना पहिलो खेलाडी हुन् । यसअघि घरेलु क्रिकेट प्रतियोगितामा भने यस्तो उपलब्धि दुई जनाले हासिल गरिसकेका छन् । बंगलादेशका अल अमिन हुसेनलले सन् २०१३ मा घरेलु प्रतियोगिता ‘भिक्ट्री डे टी–२० क्रिकेट’मा एकै ओभरमा पाँच विकेट लिएका थिए भने भारतका अभिमन्यु मिथुनले पनि सन् २०१९ मा सैयद मुश्ताक अली ट्रफीको सेमिफाइनलमा यस्तो उपलब्धि हासिल गरेका थिए ।
आयरल्याण्डका खेलाडी कर्टिस क्याम्फरले पनि घरेलु प्रतियोगितामा यस्तो उपलब्धि हासिल गरेका छन् ।
