• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एक अर्को हिन्दु युवकको बंगलादेशमा गरियो हत्या


  • धनकुटा खबर
  • .

बंगलादेशको राजबारी जिल्लामा एक हिन्दु युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। बुधबार राति करिब ११ बजेतिर होसेन्डांगा गाउँमा २९ वर्षीय अमृत मण्डल (सम्राट) को ज्यान गएको स्थानीय प्रहरीले पुष्टि गरेको छ। भारतमा केही समय लुकेर बसेका मण्डल हालै मात्र आफ्नो गाउँ फर्किएका थिए।

घटनाको पृष्ठभूमिबारे जानकारी दिँदै स्थानीय प्रशासनले जनाए अनुसार, मण्डलमाथि चन्दा असुली र आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको थियो। बुधबार राति उनी र उनका साथीहरू स्थानीय साहिदुल इस्लामको घरमा रकम असुल्न पुगेको दाबी गरिएको छ। सोही क्रममा घरपरिवारले ‘चोर-चोर’ भन्दै गुहार मागेपछि भेला भएका स्थानीयको भिडले मण्डललाई नियन्त्रणमा लिएर मरणासन्न हुने गरी कुटपिट गरेको थियो। उनका अन्य सहयोगीहरू भने घटनास्थलबाट फरार हुन सफल भएका थिए।

प्रहरीले यस घटनाको सिलसिलामा मण्डलका सहयोगी मोहम्मद सलीमलाई दुईथान हतियारसहित नियन्त्रणमा लिएको छ। मृतकको शरीरलाई पोस्टमार्टमका लागि राजबारी सदर अस्पताल पठाइएको छ। एसएसपीका अनुसार पाङ्सा प्रहरी चौकीमा मण्डलविरुद्ध हत्यासहित कम्तीमा दुईवटा फौजदारी मुद्दा पहिलेदेखि नै विचाराधीन थिए। स्थानीयले उनलाई एक आपराधिक गिरोहको नाइकेका रूपमा चित्रण गर्दै आएका थिए।

यसअघि गत डिसेम्बर १८ मा पनि ढाका नजिकै हिन्दु समुदायका दिपु चन्द्र दासको भिडले हत्या गरी शव जलाएको थियो। एकपछि अर्को गर्दै अल्पसंख्यक समुदायका व्यक्तिहरूमाथि भएका यस्ता हिंसात्मक घटनाले बंगलादेशको सुरक्षा अवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ। यी घटनाहरूको विरोधमा छिमेकी राष्ट्र भारतका विभिन्न हिन्दु संगठनहरूले सडकमा उत्रिएर प्रदर्शन सुरु गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖