कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा विभिन्न जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। आममाफीसँगै ती नेपालीहरू रिहा भएका छन्।
परराष्ट्र मन्त्रालय ले कतार सरकारको यस निर्णयप्रति धन्यवाद व्यक्त गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीका अवसरमा नेपाली कैदीहरूलाई उदारतापूर्वक अमिरी आममाफी प्रदान गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा नेपाल सरकारले मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गर्दै यसलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्ति भएको जनाएको छ। कतार सरकारप्रति आभार प्रकट गर्दै भविष्यमा पनि आपसी सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरिएको छ।
कतारमा हाल करिब पाँच लाख नेपाली कामदार कार्यरत छन्। वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरूमध्ये एक बनेको कतारमा गत वर्ष मात्रै एक लाख ४० हजार ७ सय ९२ जना नेपाली रोजगारीका लागि गएका थिए। हालै नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिएको पृष्ठभूमिमा आएको यो आममाफीलाई दुई देशबीचको निकट सम्बन्धको संकेतका रूपमा पनि हेरिएको छ।
