काठमाडौं : अमेरिकाले नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। जनवरी २१ देखि लागू हुने गरी नेपाललाई उक्त सूचीमा राखिएको हो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार नेपाली नागरिकहरूले अमेरिकाको बी-१/बी-२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी रकम राख्नुपर्ने छ। यस्तो धरौटी न्यूनतम ५ हजारदेखि अधिकतम् रकम १५ हजार अमेरिकी डलर हुने गर्छ।
भिसा बन्ड भनेको कुनै व्यक्तिले भिसा पाएपछि तोकेको समयभित्र अमेरिका छोड्छु र भिसाका सबै नियम पालना गर्छु भन्ने कुराको आर्थिक जमानत (ज्ञारेन्टी) हो। भिसा दुरुपयोग हुने सम्भावना बढी देखिएको भन्दै अमेरिकाले उक्त नियम ल्याएको हो।
