वासिङटन डीसी । पेरुको लिमाबाट आएको एलएटीटीएएम एयरलाइन्सको एउटा विमान अवतरणका क्रममा एटलान्टाको हार्टस्फिल्ड –ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलमा आतंक मच्चियो ।
अवतरण गर्दैगर्दा विमानका आठै वटा ल्यान्डिङ टायर एकैसाथ फुटे, धुवाँको मुस्लो उठ्यो । ठुलो विस्फोट सुनियो । एलएटीएम उडान २४८२ (बोइङ ७६७) लगभग सात घण्टाको उडानपछि एटलान्टा आइपुगेको थियो । विमान अवतरण गर्नेबित्तिकै विमानस्थलका कर्मचारी र यात्रुहरूले विष्फोटको आवाज सुने । घटना मंगलबारको हो ।
केही सेकेन्डमै टायरबाट धुवाँ निस्किरहेको देखियो । आपतकालीन अवस्था सिर्जना भयो । यस घटनामा कुनै पनि यात्रु घाइते त भएनन्, तर विमानभित्र स्पष्ट क्षति देखिन्थ्यो । स्थानीय मिडियाका अनुसार केही क्याबिन प्यानलहरू भत्किएका थिए, बाथरूमको ढोकाको कब्जा फुस्किएको थियो । अवतरणका क्रममा धावनमार्गमा लामो समयसम्म विमान असामान्य रूपमा हल्लिरहेको यात्रुहरूले बताएका थिए । जसले गर्दा डरको वातावरण सिर्जना भएको थियो ।
बसहरूले टर्मिनलमा लैजानुअघि विमानमा रहेका २२१ यात्रुहरूले लगभग दुई घण्टासम्म धावनमार्गमा पर्खनुपरेको थियो । सावधानीका रूपमा धावनमार्ग अस्थायी रूपमा बन्द गरिएको थियो । तर विमानस्थलका अन्य हिस्सा सामान्य तरिकाले सञ्चालन भइरहेका थिए ।
विमानका सबै आठ टायरहरू एकैसाथ फुट्नु अत्यन्तै दुर्लभ भएको हवाई विज्ञहरूको भनाइ छ । विमानको स्वचालित ब्रेकिङ प्रणाली खराब भएको हुन सक्ने आशंका गरिएको छ । ब्रेकहरू लक भएको अनि अत्यधिक घर्षणका कारण टायरहरू फुटेको हुन सक्ने बताइएको छ । यस घटनाबारे अनुसन्धान भइरहेको छ । प्राविधिक त्रुटि पुष्टि भएपछि मात्र आधिकारिक कारण खुलासा हुने समाचारमा जनाइएको छ ।
