बेइजिङ । चीनमा एक महिलाले आफ्नो धोकेबाज श्रीमान् र उनकी प्रेमिकालाई सार्वजनिक रूपमा माफी माग्नुपर्ने अदालती आदेशलाई नै बदला लिने नयाँ हतियार बनाएकी छिन्। श्रीमानको विवाहेत्तर सम्बन्ध सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै मानहानि मुद्दा हारेकी निउ ना अहिले आफ्नो अनौठो शैलीको ‘माफी भिडियो’ का कारण देशैभर चर्चित बनेकी हुन्।
घटना अनुसार निउले आफ्ना श्रीमान् विगत पाँच वर्षदेखि अफिसकै सहकर्मीसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि उनीहरूको नाम र गोप्य जानकारी सामाजिक सञ्जालमा भाइरल बनाइदिएकी थिइन्। यसको विरुद्धमा श्रीमान् र उनकी प्रेमिकाले अदालतमा मुद्दा हाले र जिते पनि।
न्यायाधीशले निउलाई लगातार १५ दिनसम्म सामाजिक सञ्जालमा उनीहरूसँग सार्वजनिक रूपमा माफी माग्न र उक्त पोस्ट हटाउन नपाउने आदेश दिए। तर, निउले यही अपमानजनक आदेशलाई उल्टै उनीहरूको बदनामी गर्ने अवसरमा बदलिदिइन्।
उनले भिडियोमा माफी त मागेकी छिन्, तर त्यसका साथै श्रीमानले प्रेमिकाका लागि किनेका विलासी सामानका बिलहरू, छोरीको स्कुलको शुल्क नतिरेको प्रमाण, र घरेलु हिंसाका विवरणहरू पनि पालैपालो खुलासा गरिरहेकी छिन्। उनले भिडियोमा ‘मैले गलत गरेँ’ भन्दै गर्दा श्रीमानले घरको ऋण नतिरेर प्रेमिकामाथि पैसा उडाएको तथ्य पनि देखाइरहेकी छिन्। यी भिडियोहरू यति धेरै भाइरल भएका छन् कि प्रत्येक भिडियोले लाखौँ भ्युज र ५ लाखभन्दा बढी लाइक पाएका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई ‘माफी नभएर सार्वजनिक फाँसी’ को संज्ञा दिएका छन्। मानिसहरू हरेक दिन नयाँ खुलासा सुन्न उनको अर्को भिडियोको प्रतीक्षा गरिरहेका छन्। यो विवादले यति उग्र रूप लिएको छ कि निउका पूर्व श्रीमान् र उनकी प्रेमिका कार्यरत कम्पनीले दुवैलाई जागिरबाट निलम्बन समेत गरेको छ।
