• Sunday 4th of October 2026

टुथपेस्टमा घातक ‘सिसा’ भेटिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) ले हालै सार्वजनिक गरेको एउटा डरलाग्दो अध्ययन प्रतिवेदनप्रति नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दैनिक प्रयोगमा आउने टुथपेस्ट लगायतका मुख तथा दन्त सरसफाइका सामग्री र विभिन्न सौन्दर्य प्रसाधनहरूमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक ‘सिसा’ को मात्रा अत्यधिक भेटिएपछि संघले चिन्ता व्यक्त गरेको हो।

देशका विभिन्न सहरबाट संकलन गरिएका नमुनाहरूको परीक्षण गर्दा ३१ प्रतिशत सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा फेला परेको छ। अझ अचम्मको कुरा त, दैनिक प्रयोग गरिने टुथपेस्टका ४५ प्रतिशत नमुनामा सिसा भेटिएको छ, जसमा बालबालिकाले प्रयोग गर्ने सामग्रीहरू समेत समावेश छन्। आम नागरिक र विशेषगरी बालबालिकाको स्वास्थ्यसँग जोडिएको यस्तो संवेदनशील विषयमा खेलबाड हुनु अत्यन्तै गम्भीर रहेको संघको ठहर छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सिसा मानव शरीरका लागि एक घातक तत्त्व हो। विशेषगरी बालबालिकाहरूमा यसले बौद्धिक विकासमा अवरोध पुर्‍याउने, सिक्ने क्षमतामा कमी ल्याउने र व्यावहारिक समस्याहरू निम्त्याउने गर्दछ। दीर्घकालीन रूपमा यसले मानिसको दृष्टि, श्रवण शक्ति र स्नायु प्रणालीमा समेत गम्भीर क्षति पुर्‍याउने वैज्ञानिक तथ्यहरू रहेका छन्। टुथपेस्ट जस्तो मुखमा सिधै प्रयोग गरिने वस्तुमा यस्तो हानिकारक तत्त्व भेटिनुले ठुलो स्वास्थ्य संकट निम्त्याउन सक्ने चिकित्सकहरूको चेतावनी छ।

संघले बजारमा उपलब्ध सामग्रीहरूको कडा नियमन गर्न र मापदण्ड विपरीतका वस्तुहरूमाथि प्रतिबन्ध लगाउन नेपाल सरकारलाई जोडदार आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖