• Sunday 4th of October 2026

यौनांग सफा गर्न ‘भजाइनल वास’को प्रयोग गर्नु कतिको उचित ?


  • धनकुटा खबर
  • .

डा. सविता थापा
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

यौनांग सफा गर्न ‘भजाइनल वास’को प्रयोग गर्नु कतिको उचित ?
गुप्तांग सफा र स्वच्छतामा ध्यान दिन निकै आवश्यक छ । किनकी गुप्तांग वरपर फोहोर भएमा संक्रमण हुने जोखिम बढ्छ । जसले पिसाबथैलीमा समेत समस्या पार्न सक्छ । असामान्य खालको योनी स्राव हुने सम्भावना रहन्छ ।

राम्रोसँग सफा हुन नपाउँदा गुप्तांगबाट गन्ध आउने र चिलाउने समेत हुन थाल्छ । प्राय महिला गुप्तांग सफा गर्न ‘भजाईनल वास’को प्रयोग गर्छन्।

कयौँ विज्ञापनमा पनि गुप्तांग सफा गर्न भजाईनल वासको प्रयोग आवश्यक रहेको देखाउँछ । जसलाई विश्वास गरेर मनलाग्दी यस्तो उत्पादन प्रयोग गर्नु कहिलेकाहीँ हानिकारक साबित हुनसक्छ ।

के, वास्तवमै यसको प्रयोगले गुप्तांग सफा र स्वस्थ हुन्छ ?

तपाईं पनि यस्ता प्रोडक्ट प्रयोग गर्नुहुन्छ भने एकपटक सोच्नै पर्ने हुन्छ । सबैभन्दा पहिला के बुझनुपर्छ भने गुप्तांग क्षेत्रलाई सफा गर्न बजारमा पाइने फेमिनन् वास, इन्टिमेट वाश र भी वास जस्ता व्यापारिक उत्पादनकाे आवश्यकता त्यति हुँदैन ।

किनकी, योनिसँग आफैँ सफा राख्ने क्षमता हुन्छ । त्यसैले यसका लागि तपाईंले कुनै पनि धुने वा साबुन प्रयोग गर्नुपर्दैन।

लगातार भजाईनल वास जस्ता उत्पादनको प्रयोग गर्याे भने यसले योनिमा रहने ब्याक्टेरियाको प्राकृतिक सन्तुलनलाई असर गर्न सक्छ। योनिमा एलर्जी वा दाग पनि निम्त्याउन सक्छ।

कतिपयले साबुनको पनि प्रयोग गर्छन्। यसले योनिको पिएच सन्तुलनलाई असर गर्छ । जब योनिको पिएच सन्तुलन प्रभावित हुन्छ, संक्रमणको जोखिम उच्च हुन्छ।

यद्यपि, योनिको बाहिरी भाग सफा गर्न हल्का खालको साबुन भने प्रयोग गर्न सकिन्छ । कडा सुगन्ध भएको साबुन प्रयोग गर्नु उचित हुँदैन ।

स्वस्थ योनिको पिएच ३.३–४.७ को बीचमा हुनुपर्छ । नियमित रूपमा भजाईनल वास प्रयोग गर्नुअघि, तिनीहरूले योनिको पिएचलाई असर गर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

तरिका नबुझ्दा समस्या

महिलाहरूले योनिको क्षेत्र वरपर सफा गर्ने तरिका बुझ्दैनन् । गुप्ताङ्गको क्षेत्र सोचेभन्दा बढी संवेदनशील छ । वास्तवमा ठूलो समस्या नआएसम्म अधिकांश महिलाहरूले यी कुरा बुझ्दैनन् ।

त्यसैले यस्तो अवस्था आउन नदिन पेन्टी सफा गर्न सधैं कडा केमिकल नभएको हल्का डिटरजेन्ट प्रयोग गर्नुपर्छ ।

वास्तवमा, यदि साबुन वा जेलले सफा गर्ने हो भने योनिको माथिल्लो भाग सफा गर्न सकिन्छ । अर्थात् प्रायः फोहोर जम्मा हुने रौं धेरै उम्रिएको योनिको माथिल्लो भागमा सफा गर्न सकिन्छ।

कुनै पनि यस्ता प्रोडक्ट प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।

कसरी सफा गर्ने ?

-दिसापिसाब गरेपछि मन तातो पानीले सफा गर्न सकिन्छ ।

-सफा पानीले सफा गरेपछि सुतीको कपडाले पुस्ने र सुतीकै पेन्टी लगाउनु उचित हुन्छ ।

-दिसा गरेर पखाल्दा वा पुच्छदा अगाडीको भागबाट पछाडीको भागतर्फ लगेर सफा गर्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖