एजेन्सी । अमेरिका र इरानबीच पछिल्ला दिनमा भएको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हुने सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने निर्णय गरेको घोषणा गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत मध्यपूर्वमा जारी तनाव समाधानका लागि अमेरिका र इरानबीच “धेरै राम्रो र फलदायी कुराकानी” भएको उल्लेख गरेका छन् । उनले उक्त वार्ताको स्वर र प्रगतिलाई ध्यानमा राख्दै इरानका ऊर्जा केन्द्रहरू तथा पूर्वाधारमाथि हुने सबै अमेरिकी आक्रमण पाँच दिनका लागि रोक्न निर्देशन दिएको बताए ।
उनका अनुसार यो निर्णय आगामी दिनमा जारी रहने वार्ता र छलफलको सफलतामा निर्भर रहनेछ । ट्रम्पले यसलाई मध्यपूर्वमा जारी द्वन्द्व समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेका छन् ।
यसअघि इरानको राष्ट्रिय रक्षा परिषद्ले अमेरिकी आक्रमणको प्रयास भए फारसको खाडी क्षेत्रमा सञ्चार लाइनहरूमा माइन (विस्फोटक पदार्थ) बिछ्याउने चेतावनी दिएको थियो । साथै, हर्मुज जलमार्ग खोल्न अमेरिकाले दिएको समयसीमा पनि सकिनै लागेको अवस्थामा दुवै पक्षबीचको वार्ताले नयाँ मोड लिएको छ ।
ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ । बीबीसीका अनुसार कच्चा तेलको मूल्य करिब १३ प्रतिशतले घटेर प्रति ब्यारेल ९६ डलर आसपास पुगेको छ । यस्तै, ग्यासको मूल्य पनि घटेको छ भने बेलायतको शेयर बजार एफटीएसई १०० सूचकांकमा सुधार देखिएको छ ।
त्यसैगरी, बेलायतको १० वर्षे सरकारी बन्डको प्रतिफल पनि घटेको छ, जसले बजारमा स्थिरताको संकेत दिएको विश्लेषण गरिएको छ ।
विश्लेषकहरूका अनुसार ‘अपरेशन एपिक फ्युरी’ सुरु भएयताकै ट्रम्पको यो सबैभन्दा मेलमिलापपूर्ण सन्देश हो । यसले अमेरिका–इरानबीचको तनाव कम गर्न कूटनीतिक बाटो खुल्ने सम्भावना देखाएको छ ।
यद्यपि, आगामी वार्ताको परिणाम कस्तो आउने भन्ने अझै स्पष्ट नभएकाले स्थिति पूर्ण रूपमा सामान्य भइसकेको छैन । पाँच दिनको यो विरामले स्थायी समाधानतर्फ मार्ग खोल्ने कि अस्थायी रणनीति मात्र रहने भन्ने चासो भने कायम नै छ ।
