• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इरान र अमेरिकाबिच महत्त्वपूर्ण सहमति भएको दाबी, इरान आणविक कार्यक्रम त्याग्न तयार भएको हो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच धेरै मुख्य बुँदाहरूमा सहमति जुटेको दाबी गरेका छन्। वेस्ट पाम बिचमा सोमबार एयरफोर्स वान विमान चढ्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता धेरै राम्रो भएको दुवै पक्ष सम्झौताको नजिक पुगेको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले इरानले शान्तिका बदलामा आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न तयार रहेको सङ्केत दिएको दाबी गरे। उनले भने, ’हामीबिच महत्त्वपूर्ण सहमति भएको छ । म त भन्छु लगभग सबै बुँदामा सहमति जुटेको छ। इरान सम्झौता गर्न निकै उत्सुक छ र हामी पनि तयार छौँ।’

ट्रम्पले यो सम्झौताको मुख्य सर्त नै अब युद्ध नहुने र इरानले आणविक हतियार राख्न नपाउने रहेको स्पष्ट पारे।पछिल्लो समय इरानको ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिँदै आएको अमेरिकाले हाललाई पाँच दिनका लागि सैन्य कारबाही स्थगित समेत गरेको छ।

ट्रम्पले इरानको १० अर्ब डलरभन्दा बढी लागतमा बनेको सबैभन्दा ठुलो विद्युत् उत्पादन केन्द्र ध्वस्त पार्ने तयारी रहेको दाबी गरे गरे। तर, इरानी पक्षबाट वार्ताको प्रस्ताव आएपछि आक्रमण रोकिएको उनले बताए।

‘उनीहरूले नै मलाई फोन गरेर सम्झौताको इच्छा देखाएका हुन्। यदि पाँच दिनभित्र कुरा मिल्यो भने यो समस्या सदाका लागि सुल्झिनेछ, अन्यथा हामीले फेरि आक्रमण सुरु गर्नेछौँ,’ ट्रम्पले भने।

यो वार्तामा ट्रम्पका सल्लाहकार स्टिभ विट्कोफ र ज्वाइँ जेरेड कुश्नर सक्रिय रूपमा संलग्न रहेको बताइएको छ । ट्रम्पले इरानको कुनै शीर्ष व्यक्तिसँग कुराकानी भइरहेको बताए पनि त्यहाँका नयाँ सर्वोच्च नेताको अवस्थाबारे भने आशङ्का व्यक्त गरे। ’हामीलाई उनी (सर्वोच्च नेता) जीवित छन् वा छैनन् भन्ने समेत थाहा छैन,’ ट्रम्पले भने।

यस वार्ता प्रक्रियामा पश्चिम एसियाका अन्य साझेदार राष्ट्रहरूलाई पनि ध्यानमा राखिएको र आजै फोनमार्फत थप छलफल हुने ट्रम्पले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖