• Tuesday 6th of October 2026

होटलमा यौनधन्दा : सञ्चालिका र भारतीय नागरिकसहित ४ जना पक्राउ


  • धनकुटा खबर
  • .

महोत्तरी । महोत्तरीको जलेश्वरस्थित एक होटलमा छापा मारी प्रहरीले यौनधन्दामा संलग्न होटल सञ्चालिका र भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।

जलेश्वर नगरपालिका वडा नं. २, मटिहानी चोक नजिकै सञ्चालित कोइराला होटल तथा लज मा महिलाहरूलाई प्रलोभनमा पारी जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार दिउँसो छापा मारेको हो।

प्रहरी टोलीले होटलको खानतलासी गर्दा पहिलो र दोस्रो तलाका कोठाहरूमा दुई पीडित महिला र दुई भारतीय पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो। होटलका कोठाभित्र खाटको डस्ना मुनि र भुइँमा प्रयोग गरिएका तथा नगरिएका अस्थायी साधनहरू छरपष्ट अवस्थामा फेला परेका थिए।

पक्राउ पर्नेहरूमा भारतको मधवापुरका २८ वर्षीय र मधुवनीका ३६ वर्षीय पुरुष रहेका छन्। त्यस्तै, जलेश्वर–२ का ६० वर्षीय पुरुष र ४५ वर्षीया होटल सञ्चालिकालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए। प्रहरीले होटल सञ्चालिकाले अनुचित लाभ लिनका लागि महिलाहरूलाई प्रलोभनमा पारेर यौनधन्दामा लगाएको दाबी गरेको छ। पीडित महिलाहरूको उद्धार गरी थप प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖