• Wednesday 25th of November 2026

आफ्नै छोराको हत्या गरेको कसुरमा वृद्ध दम्पतीलाई जन्मकैद


  • धनकुटा खबर
  • .

दैलेख । आफ्नै छोराको हत्या गरेको कसुरमा जिल्ला अदालत दैलेखले एक वृद्ध दम्पतीलाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले नारायण नगरपालिका–९ बासकोटका ७३ वर्षीय कविराज थापा क्षेत्री र उनकी ६७ वर्षीया श्रीमती पदम कुमारी थापालाई २५ वर्ष कैद हुने फैसला गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखले मंसिर ८ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला अदालत दैलेखले मंसिर ७ गते उक्त फैसला सुनाएको हो । अदालतले कैद सजायसँगै प्रतिवादीहरूबाट मृतकका हकवालालाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको छ ।

घरेलु विवादपछि भएको थियो हत्या

प्रहरीका अनुसार गत जेठ १९ गते ४६ वर्षीय यादव थापाको हत्या भएको थियो । नेपालगन्जमा बस्दै आएका यादव पुर्ख्यौली कुलदेवताको पूजा गर्न दैलेख आएको समयमा आमा पदम कुमारीसँग घरायसी विवाद भएको थियो ।

उक्त विवादका क्रममा बाबु कविराज थापाले हँसिया प्रहार गरी छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मृतकको शव परीक्षण प्रतिवेदन, प्रतिवादीहरूको साविती बयानलगायतका प्रमाणका आधारमा अदालतले दुवैलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवं प्रहरी निरीक्षक तिलक भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖