गोरखा । गोरखाको गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत पाँचकिलोमा बस र ट्रक एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । दुर्घटना बुधबार भएको हो ।
गोरखाबाट पोखराका लागि छुटेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख २६१५ नम्बरको ट्रक ठोक्किएको गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा बस चालक पोखरा महानगरपालिका–३२ निवासी ४० वर्षीय डोलबहादुर विक, ट्रक चालक भरतपुर महानगरपालिका–२९ जुगेडी, चितवन निवासी ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ पनि रहेका छन् ।
घाइते सबैको तनहुँस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
