• Sunday 4th of October 2026

सुटिङका क्रममा समुद्रमा डुबेर अभिनेता राहुलको निधन


  • धनकुटा खबर
  • .

कोलकाता । बंगाली सिनेमाका चर्चित अभिनेता राहुल अरुणोदय बनर्जीको ओडिसाको तलसरी समुद्र तटमा सुटिङका क्रममा डुबेर असामयिक निधन भएको छ। टेलिभिजन शो ‘भोले बाबा पार करेगा’ को छायाङ्कन भइरहेका बेला भएको यो दुर्घटनामा राहुलको ज्यान गएको हो भने उनकी सह-अभिनेत्री श्वेता मिश्रालाई भने जीवितै उद्धार गरिएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट फिल्मको निर्माण टोलीले सुटिङका लागि स्थानीय प्रशासनसँग कुनै अनुमति नलिएको र जानकारी समेत नगराएको गम्भीर तथ्य बाहिर आएको छ। बालासोर ओडिसाका प्रहरी उपरीक्षकका अनुसार राहुल र श्वेता साँझ साढे ५ बजेतिर घुँडासम्मको पानीमा नाच्ने दृश्यको छायाङ्कन गरिरहेका थिए। सोही क्रममा उनीहरू एक्कासि समुद्री खाडलमा परेपछि यो दुर्घटना भएको हो।

निर्माण टोलीले उनलाई तुरुन्तै दीघा अस्पताल पुर्‍याए पनि डाक्टरहरूले बचाउन सकेनन्। प्रहरीले सुटिङको अनुमति नलिइएकाले यस विषयमा तलसरी र दीघा प्रहरीले संयुक्त रूपमा थप कानुनी कारबाही अगाडि बढाएको जानकारी दिएको छ। यद्यपि, मृतकका सह-कलाकार दिंगता बागचीले भने सुटिङ सकिएपछि राहुल एक्लै समुद्रमा गएको दाबी गरेका छन्, तर प्रहरीले सुटिङकै क्रममा दुर्घटना भएको बताएको छ।

यस घटनापछि अभिनेता राहुलकी पत्नी तथा अभिनेत्री प्रियंका सरकारले सामाजिक सञ्जालमार्फत आफ्नो परिवारको गोपनियता र संवेदनशीलताको सम्मान गरिदिन अपिल गरेकी छिन्। उनले यो समय आफ्नो परिवार, सानो बच्चा र आमाका लागि निकै कठिन रहेको उल्लेख गर्दै सञ्चारमाध्यमलाई अनावश्यक दखल नदिन र शान्तिपूर्वक शोक मनाउन दिन आग्रह गरेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖