काठमाडौं। आजभन्दा तीन वर्षअघि हर्क साम्पाङले तुइन तरिरहेकी बालिकाको भिडियो टिकटकमा देखेका थिए । भिडियो देखेपछि भावुक बनेका हर्कले तुइन भएको ठाउँमा पुल बनाउने सपना देखेका थिए ।
अहिले श्रमदानमार्फत् पुल बनाउनलाई हर्क दार्चुला पुगेका छन् । संयोग कस्तो भइदियो भने तीन वर्षअघि तुइन तरिरहेकी पाँच वर्षीया गृष्मा धामीसँग हर्कको भेट भएको छ ।
भेट हुनसाथ हर्क नानीलाई देखेर प्रफुल्लित भए । आफू नजिक ल्याए । नाम सोधे । गृष्मालाई भने, ‘सानो देखेको थिएँ, यत्रो ठूलो भइसकेछ ।’
गृष्माले जवाफ दिइन्, ‘आठ वर्षकी भएँ ।’
हर्कले सोधे, ‘फोटो खिच्दा हुन्छ ?’
गृष्माले टाउको हल्लाइन् । हर्कले गृष्णसँग सेल्फी लिए । गृष्माले भनिन्, ‘यहाँ आउनुभयो, खुसी भयौं, धन्यवाद ।’
गृष्मालाई भेटेपछि हर्कले स्थानीयबासीलाई सम्बोधन गर्दै भने, ‘टिकटकमा एकजना नानी तुइनमा झुण्डिएर जाँदै गरेको देखेँ । पछाडिबाट आमाले जानू जानू भनिरहेको देखेको थिएँ । नानी डराई डराई गइरहेको देखेको थिएँ । त्यो देख्दा मलाई साह्रै नमज्जा लाग्यो । ठूलो मान्छे तर्दै गरेको त देखेको थिएँ । यति सानी नानी तरिरहेको देख्दा खेरि म आफूले आफैंलाई थुक्न मन लाग्यो । अनि राजनीति गर्ने सबैलाई थुक्न मन लाग्यो ।’
हर्कले थप भने, ‘अनि मैले त्यो तुइन विस्थापन गर्नलाई पुल लगाउन आउँछौं भनेर लेखेँ । कतिले सोच्यो, यसले के भन्छ भन्छ भन्ने लाग्यो । तर, म कस्तो मान्छे हो भने मैले बोलेपछि म गर्छु । चुनाव जिते पनि, हारे पनि बनाउँछौं भनेको थिएँ ।’
आफूले प्रण गरिसकेकाले पुल बनाउन दार्चुला आएको हर्कले बताए । गृष्माले तरेको तुइनमा महाकालीमा पर्ने भएकाले त्यसमा पुल बनाउन भारतको अनुमति लिनुपर्ने बताए । भारतको अनुमति लिनलाई आफूले के के पहल गर्नुपर्ने हो, सबै गर्ने बताए ।
हर्कले भने, ‘‘कोही पनि महाकालीमा झरेर अकालमा मर्नु नपरोस् । हामी यहाँ राजनीति गर्न, पार्टी विस्तार गर्न पनि आएका होइनौं । कोही मान्छे दुःखमा थियो, मैले सहयोग गर्नुपर्छ भनेर पाइला चालेको मात्र हो । श्रमदानमार्फत् गर्न लागिरहेका छौं । यहाँ सरकारको एक पैसा खर्च हुने छैन ।’
उक्त तुइनका लागि आफूले कूटनीतिक पहल गर्ने र अहिले श्रमदानमार्फत् दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङकै घट्टे खोलाको काठे पुल भएको ठाउँमा झोलुंगे पुल लगाउने बताए ।
पुल निर्माण गर्न हर्कले शिलान्यास गरिसकेका छन् । उनलाई स्थानीयबासीले बागाजागा सहित स्वागत गरेका थिए । स्थानीयको पीडा सुनेर हर्क भक्कानिएका समेत थिए ।-नेपाल प्रेसबाट
