• Tuesday 6th of October 2026

ट्राफिकले कार रोक्न खोज्दा दुर्घटना भएको भिडियो भाइरल : के भन्छ प्रहरी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको बबरमहल सडक खण्डमा ट्राफिक प्रहरीले कार रोक्ने क्रममा सवारी साधन किनारामा ठोक्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनाको वास्तविकताबारे स्पष्ट पारेको छ । प्रहरीका अनुसार उक्त कारले अर्को मोटरसाइकललाई ठक्कर दिएर फरार भइरहेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा दुर्घटना भएको हो ।

नयाँ वर्षको पहिलो दिन अर्थात् २०८३ वैशाख १ गते बानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा.प्र.०१-०२९ च ६९०१ नम्बरको निजी कारले बा.प्र.०२-०३७ प ०५६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको मौखिक उजुरी प्रहरीले प्राप्त गरेको थियो । हिट एण्ड रनको सूचना पाएलगत्तै बबरमहलमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उक्त कारलाई रोक्न खोजेका थिए ।

प्रहरीले रोक्न खोज्दा कार चालकले गाडी रोक्नुको साटो अनियन्त्रित र जबरजस्ती तरिकाले अगाडि बढाउन खोजेका थिए । सोही क्रममा कार सडकको किनारामा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । तत्कालै प्रहरीले चालकलाई बाहिर निकाली चेकजाँच गर्दा उनले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको थियो ।

प्रहरीले मापसे गरेर सवारी चलाउने र अर्को सवारीलाई ठक्कर दिएर भाग्ने ती चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖