सिंगापुर । सिंगापुरमा एक फ्रान्सेली किशोरले भेन्डिङ मेसिनको स्ट्र चाटेर पुनः राखेको आरोपमा दुई वर्षसम्मको जेल सजायको सामना गर्नुपर्ने भएको छ ।
१८ वर्षीय डिडिएर गैसपार्ड ओवेन मैक्सिमिलियनविरुद्ध दुई वटा आरोप लगाइएको थियो । उक्त घटना मार्च १२ मा एक सपिङ सेन्टरमा भएको बताइएको छ ।
पहिलो आरोप ‘सार्वजनिक असुविधा’सम्बन्धी हो, जसमा तीन महिनासम्म जेल सजाय वा २ हजार सिंगापुर डलरसम्म जरिवाना हुन सक्छ । दोस्रो आरोप ‘दुर्भावनापूर्ण कार्य’ हो, जसमा दुई वर्षसम्म जेल सजाय, जरिवाना वा दुवै हुन सक्छ ।
प्रहरीका अनुसार किशोरले सुन्तलाको जुस दिने भेन्डिङ मेसिनको स्ट्र चाटेको भिडियो आफैं खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, जुन चाँडै भाइरल भएपछि अनुसन्धान सुरु गरिएको थियो ।
उक्त मेसिन सञ्चालन गर्ने कम्पनी इजुजले घटनापछि उक्त मेसिनका सबै ५०० वटा स्ट्रहरू बदल्नुपरेको थियो । ती किशोर इसेक्स बिजनेस स्कुलको सिंगापुर शाखाको विद्यार्थी रहेको पुष्टि भएको छ । विद्यालयले उनी र उनको परिवारसँग सम्पर्कमा रहेको र सहयोग प्रदान गरिरहेको बताए पनि जारी कानुनी प्रक्रियाका कारण थप टिप्पणी गर्न अस्वीकार गरेको छ ।
