भारत । मध्य प्रदेशको धार जिल्लामा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
इन्दौर-अहमदाबाद राष्ट्रिय राजमार्गमा बुधबार राति मजदुर बोकेको पिकअप भ्यानको टायर पड्केर पल्टिएको थियो । सोही समयमा अर्को तर्फबाट आउँदै गरेको स्कार्पियो ठोक्किएर दुर्घटनामा परेको थियो ।
रिपोर्टका अनुसार पिकअप भ्यान धेरै तीव्र गतिमा गुडिरहेको थियो । दुर्घटनामा ८ महिला, तीन किशोरी र ५ बालबालिकाको मृत्यु भएको छ ।
दुई सवारीसाधन बीचको ठक्कर भयानक थियो, जसका कारण धेरैले घटनास्थलमै ज्यान गुमाए।
घटनाको जानकारी पाएसँगै प्रहरी र स्थानीय बासिन्दाले घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए ।
घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनीहरूको अहिले पनि उपचार भइरहेको छ। केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।
अधिकारीहरूले दुर्घटनाको अनुसन्धान सुरु गरेका छन्, जसमा ओभरलोड र तीव्र गतिलाई मुख्य कारण मानिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री डा. मोहन यादवले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले यस दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिपरिवार २ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् भने घाइतेहरूलाई प्रतिपरिवार ५० हजार रुपैयाँ दिइनेछ।
मुख्यमन्त्रीले दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रतिपरिवार ४ लाख, गम्भीर घाइतेलाई प्रतिपरिवार १ लाख र घाइतेलाई प्रतिपरिवार ५० हजार रुपैयाँ सहयोग गर्न आदेश दिएका छन् ।
सरकारले सबै घाइतेहरूको निःशुल्क उपचार गर्ने बताएको छ।
