• Tuesday 6th of October 2026

रोल्पा दुर्घटनामा रुकुम पूर्वका एकै परिवारका ७ जनाले गुमाए ज्यान


  • धनकुटा खबर
  • .

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार, अहिले शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ । ‘अहिले हामीले सबै शवहरू उद्धार गरेर लाँदैछौं, सबैको सनाखत केहीबेरमा थवाङ पुगेपछि हुन्छ,’ उनले भने ।

दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ९ जना दाङका व्यक्ति रहेको वडाध्यक्ष बस्नेतले बताए ।

९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का व्यक्ति रहेको उनले बताए । उनका अनुसार, एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

‘एउटै परिवारका दुई दाजुभाइका जहान परिवार पर्नुभएको छ । दाजुको परिवारको छोरो, बुहारी, श्रीमती र नाती गरेर ४ जना बित्नुभयो,’ उनले भने, ‘उहाँकै भाइ साइँलाको श्रीमती, छोरी र छोरो पनि दुर्घटनामै पर्नुभयो ।’

उनका अनुसार, मृतकहरूको नाम संकलन हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖