काठमाडौं । २०७६ असार ३१ गते राति १ बजे प्रदेश–२–०२–००१ प ३०५४ नम्बरको स्कुटर बर्दिबासनजिक बीपी राजमार्गको स्मृतिपार्कनजिक दुर्घटना भएको अवस्थामा फेला पर्यो । स्कुटर चालक थिए, बर्दिबासका ३६ वर्षीय सरोज भन्ने श्रवण कुमार थापा ।
दुर्घटनास्थलको नालीबाट प्रहरीले सरोजको शव निकाल्यो । स्कुटर सडकमा पल्टिएको थियो । सरोजको शव प्रहरीले जिल्ला अस्पताल पठायो । अस्पतालले टाउकोको चोटका कारण सरोजको मृत्यु भएको पोष्टमार्टम रिपोर्ट दियो । त्यसपछि सरोजकी श्रीमती पूजा थापाले उनको शव बुझिन् । अन्त्येष्टि भयो । उक्त घटनाको सात वर्षपछि प्रहरीले श्रीमतीसहित तीनजना सहोदर दिदीबहिनीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले मोहत्तरी–३ की ३३ वर्षीया निशा बस्नेत, ३८ वर्षीया पूजा थापा (श्रीमती) र ३६ वर्षीया आरती बस्नेतलाई बिहीबार पक्राउ गरेको हो ।
बर्दिबास प्रहरीको टोलीले उनीहरू तीनजनालाई बाँके प्रहरीको सहयोगमा नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्रकुमार भट्टले जारी गरेको विज्ञप्तिअनुसार, खोजतलास गर्ने क्रममा बाँकेको सीमा क्षेत्रमा उनीहरू फेला परेका हुन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका एक अधिकारीका अनुसार उनीहरूलाई प्रहरीको विशेष टोलीले भारतको गोवाबाट पक्राउ गरेर नेपाल ल्याएको हो । प्रहरीस्रोतका अनुसार उनीहरूलाई पक्राउ गर्न दुई देशका माथिल्लो तहका प्रहरी अधिकारीबीच समन्वय भएको थियो । प्रहरीको लामो अनुसन्धानपछि उनीहरू गोवामा रहेको पुष्टि भएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको स्रोतले बाह्रखरीलाई बतायो ।
उनीहरूमाथि महोत्तरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
के हो घटना ?
स्मृतिपार्कनजिक भएको दुर्घटनापछि प्रहरीले कोइला व्यवसायीसमेत रहेका सरोजको शव जिल्ला अस्पताल पठायो । अस्पतालले टाउकोको चोटका कारण उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्ट दियो । सरोजकी श्रीमती पूजाले शव बुझेर अन्त्येष्टि गरियो ।
तर, सरोजका घरका सदस्यहरूले उनको मृत्यु अस्वाभाविक भन्दै छानबिनको माग राखे । त्यसको कारण थियो– दुर्घटनामा परेको स्कुटरमा कुनै क्षति नहुनु तर, सरोजको मृत्यु हुनु ।
परिवारका सदस्यले सरोजकै श्रीमतीको भूमिकामाथि शंका गरेका थिए । उक्त घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत बर्दिबास पुग्यो ।
प्रहरीले पनि सुरुआतमा सरोजको मृत्युलाई दुर्घटनाकै रूपमा लिएको थियो ।
तर, सीआईबीको टोलीले बर्दिबास पुगेर अनुसन्धान गरेपछि भने अनुसन्धानले अर्कै मोड लियो । अनि, प्रहरीले सरोजको मृत्यु दुर्घटनामा परेर नभई हत्या भएको निष्कर्ष निकाल्यो ।
घटनाको दुई महिनापछि सरोजको हत्यामा संलग्न भएको आरोपमा चारजना पक्राउ परे । त्यसबेला प्रहरीले सर्लाही धनकौल गाउँपालिका–३ का २७ वर्षीय प्रमोद सिंह, सोही ठाउँका २७ वर्षीय मुकेश सिंह, रौतहटका ३३ वर्षीय ज्ञीनारायण महरा र ४६ वर्षीय नरेश सहनीलाई पक्राउ गर्यो ।
उनीहरू पक्राउ परेसँगै सरोजकी श्रीमती पूजासहित सालीहरू निशा, आरती, सोनी, कोपीला, अनुशा र सासू लक्ष्मी बस्नेत फरार भए । लामो अनुसन्धानपछि घटनामा उनीहरूको पनि संलग्नता रहेको निष्कर्षमा प्रहरी पुग्यो ।
श्रीमतीसहित पाँच साली र सासूको भूमिका
सरोजकी श्रीमती पूजाका पाँच बहिनी थिए । सरोजको ससुराली धनुषाको मिथिला नगरपालिकाको बाहुनमारा हो । उनका सालीहरूमध्ये निशा र अरतीको बिहे भइसकेको थियो सोनी, कोपीला र अनुशाको भएको थिएन ।
प्रहरीका अनुसार सरोज र पूजाका एक छोरा र एक छोरी भए पनि सम्बन्ध खासै राम्रो थिएन । कसैसँग बोले सरोजले पूजालाई शंकाको नजरे हेर्थे । हातपातसमेत गर्थे । सरोजसँग पूजा हैरान थिइन् ।
श्रीमान्बाट हैरानी खेपेकी पूजा उनीबाट छुटकारा चाहन्थिन् । त्यसपछि उनी श्रीमान्को हत्या गर्ने योजनामा पुगेको प्रहरीको निष्कर्ष छ ।
प्रहरीको अनुसन्धानअनुसार, उनले आमा र पाँच बहिनीलाई प्रयोग गरी श्रीमान्को हत्या गर्ने योजना बनाइन् । अनुसन्धानका क्रममा सरोजको हत्या गर्न आमा (सासू) लक्ष्मीले नै औषधि ल्याउने वाहानामा राति घरबाट टाढाको मेडिकल पढाएकी खुलेको छ ।
बीच बाटोमा सरोजको हत्याका लागि पूजाकी बहिनी निशाले आफ्ना देवर प्रमोद सिंहलगायत पाँचजना युवालाई सुपारी दिएर राखेकी प्रहरी अनुसन्धानमा खुलेको छ । सासूलाई औषधि किन्न मेडिकल जाँदै गरेका सरोजलाई स्मृतिपार्क पुगेपछि नियन्त्रणमा लिएर टाउकोमा ढुंगाले हानेर हत्या गरिएको निष्कर्ष प्रहरीको छ ।
हत्यालगत्तै उनीहरू स्कुटरलाई सडक र सरोजलाई नालीमा फालेर भागेको खुलेको प्रहरीले जनाएको छ । प्रमोद सिंह पक्राउ परेलगत्तै अनुसन्धान आफूतर्फ सोझिने भयले पूजासहित आमा लक्ष्मी र पाँचै दिदीबहिनी भागेर भारत पुगेका थिए ।
प्रहरीको अनुसन्धानका क्रममा पूजाले श्रीमान्को हत्या गर्न प्रमोदलाई पाँच लाख रुपैयाँ सुपारी दिएको खुलेको छ । प्रहरीले श्रीमती पूजासहित निशा र आरतीलाई पक्राउ गरेको छ । आमा लक्ष्मी बस्नेत तथा सालीहरू सोनी, कोपीला र अनुशा पक्राउ परेका छैनन् ।
प्रहरी स्रोतका अनुसार उनीहरूले भारतमै बिहे गरेर घरजम गरेको खुलेको छ । सरोजको हत्या आरोपमा पक्राउ परेका प्रमोद सिंह, मुकेश सिंह, ज्ञीनारायण महरा र नरेश सहनी गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका छन् ।
