काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले विद्यालयहरूलाई दिँदै आएको हिउँदे तथा वर्षे बिदामा कटौती गरेको जनाएको छ।
सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि विद्यालयमा पठनपाठनको कार्यघण्टा मिलाउन हिउँदे र वर्षे बिदा घटाइएको केन्द्रले जनाएको हो।
केन्द्रका अनुसार यसअघि कायम रहेको ४५ दिनको बिदालाई घटाएर अब ३० दिनमा सीमित गरिएको छ।
केन्द्रका निर्देशक डा. श्याम प्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा सोमबारदेखि शुक्रबारसम्म पूर्ण रूपमा पठनपाठनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र विद्यालयलाई अनुरोध गरिएको छ।
त्यस्तै, प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार स्वीकृत पाठ्यक्रमले तोकेको कार्यघण्टा पूरा गर्न यस्तो व्यवस्था गरिएको केन्द्रले स्पष्ट पारेको छ।
पहिलो र दोस्रो त्रैमासिकको आन्तरिक मूल्याङ्कन पठनपाठन भएकै दिन वा पढाइमा असर नपर्ने गरी सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन प्रयोग गर्न सकिनेछ।
साथै, विद्यालयहरूले साप्ताहिक रूपमा समुदाय र परिवारसँग सम्बन्धित क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य शुक्रबार दिने र आवश्यकता अनुसार प्रस्तुति गराउने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।
मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भएपछि तोकिएको पाठ्यक्रम पूरा गर्न कठिन हुने भन्दै १५ दिन बिदा कटौती गरिएको केन्द्रले जनाएको छ।
