रूपन्देही । नेकपा एमाले पश्चिम नवलपरासी जिल्ला कमिटीका सचिव धिरज शर्मा बस्यालले पार्टीको साधारण सदस्यता तथा सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । उनले जिल्ला कमिटीलाई सम्बोधन गर्दै पार्टी सदस्यता त्याग गरेको जानकारी दिएका हुन् ।
उनले लामो समयदेखि पार्टीको विचार, सिद्धान्त, संगठन र आन्दोलनप्रति समर्पित भएर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन् । साथै पार्टी निर्माण, संगठन विस्तार, जनताको हकहितका लागि भएका संघर्ष तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो महत्वपूर्ण समय खर्चिएको स्मरण गरेका छन् ।
तर पछिल्लो समय पार्टीभित्र देखिएको कार्यशैली, सिद्धान्त र व्यवहारबीचको असन्तुलन, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको अवस्था तथा इमानदार कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुन नसकेको विषयप्रति आफू गम्भीर असन्तुष्ट रहेको उनले बताएका छन् । पटक–पटक आफ्ना धारणा र सुझाव राख्दा पनि अपेक्षित सुधार र आत्मसमीक्षा नभएको महसुस भएपछि सदस्यता त्याग गर्ने निर्णयमा पुगेको उनको भनाइ छ ।
बस्याल बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख समेत हुन् । उनी हाल एमाले पश्चिम नवलपरासीका जिल्ला सचिवको जिम्मेवारीमा थिए । जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी र बस्यालबीच लामो समयदेखि पार्टीभित्र फरक धार देखिँदै आएको थियो ।
पार्टी परित्यागसँगै बस्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारीमा रहेको स्रोतले जनाएको छ ।
