• Monday 5th of October 2026

अन्तिम मिनेटको आत्मघाती गोलले रोनाल्डो स्तब्ध, अल-नासर उपाधि जित्नबाट रोकियो


  • धनकुटा खबर
  • .

रियाद । साउदी प्रो लिगको उपाधि दौड रोमाञ्चक मोडमा पुगेको छ। अल-नासरका गोलरक्षक बेन्टोले खेलको ९८ औँ मिनेटमा गरेको एउटा गम्भीर गल्तीका कारण क्रिस्टियानो रोनाल्डोको टोली जितबाट विमुख बनेको हो।

सन् २०१९ पछि पहिलो पटक लिगको उपाधि जित्ने सङ्घारमा पुगेको अल-नासरका लागि बेन्टोको त्यो गल्ती महँगो सावित भयो, जसले कट्टर प्रतिद्वन्द्वी अल-हिलाललाई नाटकीय रूपमा एक अङ्क दिलाएको छ।

खेलको पहिलो हाफमा मोहमद सिमाकानले गोल गर्दै अल-नासरलाई अग्रता दिलाएका थिए र टोली उपाधि उत्सव मनाउन तयार देखिएको थियो। तर इन्जुरी समयको आठौँ मिनेटमा गोलरक्षक बेन्टोले एउटा थ्रो-इनलाई नियन्त्रणमा लिन नसक्दा बल उनको हातबाट फुत्किएर सिधै जाली चुम्न पुग्यो।

८३ औँ मिनेटमा मैदानबाट बाहिरिएका रोनाल्डो खेल सकिएपछि डगआउटमा निकै निराश देखिएका थिए। पाँच पटकका ब्यालोन डी’अर विजेता रोनाल्डो त्यहाँ एक्लै बसेर भावुक मुद्रामा देखिएका थिए।

अहिले अङ्क तालिकामा अल-नासर ८३ अङ्कका साथ शीर्ष स्थानमा छ जुन दोस्रो स्थानको अल-हिलाल भन्दा पाँच अङ्कले बढी हो। यद्यपि अल-हिलालले एक खेल कम खेलेको छ।

अल-नासरले आगामी मे २० मा डमाकलाई पराजित गरेमा वा मे १६ मा हुने खेलमा अल-हिलाल नियोमसँग पराजित भएमा उपाधि आफ्नो कब्जामा पार्नेछ।

यसबाहेक रोनाल्डोको आगमनपछि अल-नासरले मे १६ मा जापानी टोली गाम्बा ओसाकाविरुद्ध एएफसी च्याम्पियन्स लिग टु को फाइनल खेल्दै आफ्नो पहिलो ट्रफी जित्ने अवसर समेत पाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖