काठमाडौं । हाँसो र मनोरञ्जनका लागि चर्चित टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को पछिल्लो एपिसोडमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की भावुक बनेका छन्।
मंगलबार प्रसारित एपिसोडमा अतिथिका रूपमा सहभागी भएका आईजीपी कार्की कमेडियन प्रभात लामाको प्रस्तुतिले भावुक बनेका हुन्। प्रस्तुतिमा प्रभात लामाले प्रहरी श्रीमान् गुमाएकी महिलाको भूमिका निर्वाह गरेकी इन्दिरा घिसिङसँग संवाद गरेका थिए भने कर्मा सिंह लामाले उनका छोराको पात्र निभाएका थिए।
प्रस्तुतिमा प्रहरी परिवारले भोग्नुपरेका पीडा, संघर्ष र त्यागका कथा समेटिएका थिए। उक्त दृश्यले आईजीपी कार्कीका आँखा रसाएका थिए भने हलमा उपस्थित धेरै दर्शकसमेत भावुक बनेका थिए।
कार्यक्रमको ६०औँ एपिसोड नेपाल प्रहरीलाई समर्पित गरिएको थियो। कार्यक्रममा आईजीपी कार्कीसहित करिब १०० जना प्रहरी अधिकृत तथा जवानहरूको सहभागिता रहेको थियो।
‘प्रहरी हाम्रो साथी’ भन्ने नारालाई केन्द्रमा राखेर तयार गरिएको एपिसोडमा कलाकारहरूले प्रहरीको जिम्मेवारी, कर्तव्य र समाजप्रतिको योगदानलाई हास्य र भावनात्मक शैलीमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा कलाकार पवन भट्टराईले ‘झरीबहादुर’ पात्रमार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए भने कैलाश कार्की ‘जँड्याहा’ पात्रका रूपमा प्रस्तुत भएका थिए। त्यस्तै, भरतमणि पौडेल र सुमन कोइरालाले क्रमशः ‘घरपेटी’ र ‘माइकल’ पात्रमार्फत प्रहरी संगठनको महत्त्व, त्याग र बलिदानबारे सन्देश दिएका थिए।
विशाल भण्डारीको निर्देशनमा निर्माण हुँदै आएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रत्येक मंगलबार राति ९ बजे प्रसारण हुने गर्दछ। कार्यक्रम ओएसआर रियालिटीको युट्युब च्यानलमार्फत पनि हेर्न सकिन्छ।
