• Sunday 4th of October 2026

‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाली हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ यतिबेला अमेरिकामा रहेका छन्। उनी लामो समयदेखि अमेरिका बसिरहेकाले त्यहाँको स्थायी बसोबास अनुमति पत्र (ग्रीन कार्ड) को प्रक्रिया अघि बढाइरहेको चर्चा फिल्म वृत्तमा चलिरहेको छ।

यद्यपि, यस विषयमा केदारले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। उनी तत्काल नेपाल फर्किने सम्भावना नदेखिएकै कारण छ माया छपक्कै २ को छायांकनमा उनको स्थानमा अर्का कलाकारलाई समेटेर काम अघि बढाइएको बताइएको छ।

यसबीच उनकी श्रीमती तथा कलाकार सीतादेवी तिमल्सिना ले ग्रीन कार्डसम्बन्धी चर्चाको खण्डन गरेकी छन्। हालै काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले केदार अमेरिका बस्नुको मुख्य कारण छोरीको स्वास्थ्य अवस्था रहेको खुलासा गरिन्।

उनका अनुसार छोरी बिरामी परेकाले उनलाई रेखदेख र सहयोग आवश्यक भएकाले केदार अमेरिकामै बसिरहेका छन्। पत्रकारले श्रीमान्लाई कति मिस गर्नुहुन्छ भन्ने प्रश्नमा सीताले भनिन्, “मिस त अवश्य हुन्छ नै। तर, मिस भयो भनेर आफ्नो कर्तव्यबाट विमुख हुनु पनि भएन। हाम्री छोरी अमेरिका छिन्। छोरीलाई स्वास्थ्यले अलि साथ नदिएका कारण उहाँ छोरीलाई सहयोग गरेर बस्नुभएको छ। यता मैले छोरालाई हेरिरहेको छु, उता उहाँले छोरीलाई हेरिरहनुभएको छ।”

केदार आफ्नो पछिल्लो फिल्म जेरी अन टप प्रदर्शनपछि अमेरिका प्रस्थान गरेका थिए। ग्रीन कार्ड प्राप्तिका लागि लामो समय अमेरिका बस्नुपर्ने कानुनी व्यवस्था रहेकाले उनी त्यही प्रक्रियामा रहेको चर्चा फिल्म वृत्तमा भए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। साथै, सोही कारण नेपालबाट आएका केही फिल्म प्रस्तावसमेत उनले छोडेको चर्चा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖