• Tuesday 6th of October 2026

आज प्रधानमन्त्रीले पनि संसदमा जवाफ दिने कार्यसूची, तर, जाने टुङ्गो छैन


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ४ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २६ औँ बैठक बिहीबार बस्दैछ। संसद् सचिवालयले ११ बजे बस्ने बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार विनियोजन विधेयक (बजेट), २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने तयारी कार्यसूची रहेको छ।

बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकहरूमाथि बजेट छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। प्रधानमन्त्री बालेन्द्र शाहले पनि संसदमा जवाफ दिने कार्यसूची छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

बैठकमा सभामुखले विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकहरूमा सदस्यहरूले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । खर्च कटौतीको प्रस्ताव राख्ने २० जना सांसद रहेका छन्।

विनियोजन विधेयक, २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। त्यसलगत्तै अर्थ मन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्ने सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖