हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–६ माख्लो पकनेका युवा संगीतकार तथा सर्जक युवराज विश्वकर्मा काठमाडौंको गोकर्ण जंगलमा मृत अवस्थामा फेला परेका छन्।
परिवारका अनुसार हिजो बिहानदेखि सम्पर्कविहीन रहेका विश्वकर्मा गोकर्ण जंगलमा मृत भेटिएका हुन्। उनी परिवारसहित काठमाडौंमा बस्दै आएका थिए र पछिल्लो समय गीतसंगीत क्षेत्रमा सक्रिय थिए।
विश्वकर्माले ‘खुशी हुनु’, ‘उडिगयो चरी’, ‘हुन्न माया फेल’, ‘मेरी माया’, ‘यो मन तिम्रै हो’, ‘बिहानीमा शीत’ र ‘तोरी पहेँलै’ लगायतका गीतमा संगीत भरेका थिए। उनी हालै ‘बिहानीको शीत’ गीतको रेकर्डिङ सम्पन्न गरी म्युजिक भिडियो निर्माणको तयारीमा रहेका थिए।
उनका सहकर्मी गायक हिमाल घिमिरे ले केही दिनअघि मात्रै म्युजिक भिडियो निर्माणबारे छलफल भएको स्मरण गर्दै एक प्रतिभाशाली कलाकार गुमाउनुपरेको बताएका छन्।
विश्वकर्माको शव आज पशुपति आर्यघाट मा अन्त्येष्टि गरिने जनाइएको छ।
