• Sunday 4th of October 2026

घानाविरुद्धको खेलअघि कोलम्बियाली समर्थकले गुहारेका थिए स्थानीय तान्त्रिक


  • धनकुटा खबर
  • .

एजेन्सी । जारी विश्वकपमा राउन्ड अफ ३२ अन्तर्गत आज भएको खेलमा कोलम्बियाले घानालाई १-० ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गर्यो । यो नतिजाले कोलम्बियाली समर्थकलाई खुसी दिलायो भने घानाका समर्थकलाई निराश बनायो ।

दुवै टोलीका समर्थकले आफ्नो टोलीलाई विजयी गराउन कथित् तन्त्रमन्त्रको सहारा लिएको समाचार पनि बाहिरिएको छ । घानाका विवादास्पद तान्त्रिक नाना क्वाकु बोन्सामले विश्वकपको नतिजालाई लिएर अनेक भविष्यवाणी गरेका थिए । बोन्सामले इङ्गल्यान्डका कप्तान ह्यारी केनलाई तन्त्रमन्त्र गरेको देखि अर्जेन्टिना बाहिरिने र घाना क्वार्टरफाइनल पुग्ने भविष्यवाणी समेत गरेका थिए । तर, बोन्सामको भविष्यवाणी झुटो प्रमाणित भइसकेको छ ।

यद्यपि बोन्सामका विवादास्पद भविष्यवाणीहरू फुटबलप्रेमीमाझ यति भाइरल भयो कि कोलम्बियाली समर्थकहरू अर्को अन्धविश्वासको सहारा लिन बाध्य भएका थिए । यो घटना घाना र कोलम्बियाको खेलअघिको हो ।

बोन्सामको जादु टुनाबाट आफ्ना स्टार खेलाडी लुइस डियाजलाई जोगाउन कोलम्बियाली समर्थकहरूले अनौठो जुक्ति अपनाएको अमेरिकी मिडिया बाभारियन फुटबल वर्कसले उल्लेख गरेको छ ।

कोलम्बियाली समर्थकहरूको एउटा ठूलो समूह कोलम्बियाको राजधानी बोगोटास्थित प्रसिद्ध ‘मोन्सेरेट’ पहाडमा पुगेर तन्त्रमन्त्र विधि अनुरूप पूजाआजा गरेका थिए । बोन्सामले खेलमा ‘अदृश्य शक्ति’ मार्फत अवरोध पुर्‍याउन सक्ने डरले समर्थकहरूले पहाडको टाकुरामा रहेको तीर्थस्थलमा पुगी स्थानीय तन्त्रविद् (शामन) मार्फत पूजा अनुष्ठान गराएका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कोलम्बियाली तान्त्रिकले घानाका तान्त्रिकको प्रभावलाई निस्तेज पार्न र आफ्ना खेलाडीलाई ‘सुरक्षा कवच’ प्रदान गर्न तान्त्रिक विधि अपनाएको देखिन्छ । विधि पूरा गरिसकेपछि तान्त्रिकले स्थानीय मिडियालाई प्रतिक्रिया पनि दिएका थिए ।

बोन्सामको निशानामा कोलम्बियाका प्रभावशाली फरवार्ड लुइस डियाज रहेको चर्चा चलेपछि कोलम्बियाली समर्थकले पनि परम्परागत तान्त्रिक विधिको सहारा लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖