काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएको एउटा गाडी प्रहरीले हटाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार थापाको निवासको गेटअगाडि बा.सी. ९५७५ नम्बरको गाडी पार्किङ गरेर राखिएको भेटिएपछि क्रेनको सहायताले हटाउने प्रक्रिया अघि बढाइएको हो।
यसअघि सोमबार नै राजधानीका विभिन्न सञ्चारगृहको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका सवारीसाधन पनि प्रहरीले हटाएको थियो। कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर छाडिएका गाडीहरू ट्राफिक प्रहरीले क्रेन प्रयोग गरी हटाएको हो।
प्रहरीले यी घटनाबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा खुलाइसकेको छैन। शङ्कास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनको उद्देश्य र सम्बन्धित व्यक्तिबारे अनुसन्धान जारी रहेको जनाएको छ।
