काठमाडौं — काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा खाना पकाउने एलपीजी ग्यासको अभाव चुलिँदा उपभोक्ता एक सिलिन्डर ग्यासका लागि हप्तौँसम्म कुर्न बाध्य भएका छन्। बजारमा ग्यास नपाएर उपभोक्ताले सास्ती खेपिरहेका बेला नेपाल आयल निगमले भने मागभन्दा बढी ग्यास आयात भइरहेको र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ।
निगमका एलपीजी तथा एभिएशन विभागका निर्देशक विनितमणि उपाध्यायका अनुसार सामान्य अवस्थामा मासिक ३२–३४ हजार मेट्रिक टन ग्यास आयात हुने गरेकामा हाल यो परिमाण बढाएर ४८–४९ हजार मेट्रिक टन पुर्याइएको छ। उनका अनुसार अहिले दैनिक १०० भन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। हालै एक दिनमा १४३ र त्यसअघिल्लो दिन १३३ बुलेट ग्यास आयात भएको थियो।
उपाध्यायका अनुसार पछिल्लो १२ दिनमा दैनिक ग्यास बिक्री पनि उल्लेख्य रूपमा बढेको छ। सामान्यतया दैनिक १ लाख ८ हजारदेखि १ लाख १० हजार सिलिन्डर बिक्री हुने गरेकामा अहिले यो संख्या बढेर करिब १ लाख ३० हजार पुगेको छ।
आधा सिलिन्डरबाट पूर्ण सिलिन्डरमा फर्किएपछि बढ्यो चाप
हालको समस्या केही महिनाअघि गरिएको आधा सिलिन्डर वितरणको निर्णयसँग जोडिएको देखिन्छ। पश्चिम एसियामा उत्पन्न द्वन्द्वका कारण आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले गत फागुन २९ गतेदेखि ७.१ किलोको आधा सिलिन्डर मात्र वितरण गर्ने व्यवस्था लागू गरेको थियो।
आयात सहज बनेपछि गत असार ३१ गतेदेखि पुनः १४.२ किलोको पूर्ण सिलिन्डर वितरण सुरु गरियो। त्यसपछि उपभोक्ताले एकैपटक पूर्ण सिलिन्डर खरिद गर्न थालेपछि वितरण प्रणालीमा अचानक चाप बढेको र बजारमा ग्यास अभाव महसुस हुन थालेको निगमको विश्लेषण छ।
अनधिकृत विक्रेता र सञ्चय गर्ने प्रवृत्ति पनि जिम्मेवार
ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्रबहादुर थापाले ग्यासको वास्तविक समस्या आयातमा नभई वितरण प्रणालीमा रहेको बताए। उनका अनुसार आधिकारिक डिलरबाहेक किराना तथा अन्य अनुमति नपाएका पसलबाट समेत ग्यास बिक्री हुने प्रवृत्तिले वितरण प्रणाली अव्यवस्थित बनेको छ।
उनले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर घरमै सञ्चय गर्ने बानीले पनि बजारमा कृत्रिम अभाव सिर्जना भएको उल्लेख गर्दै विक्रेता प्रमाणीकरण प्रणालीलाई कडाइका साथ लागू गर्न सरकारसँग आग्रह गरे।
विभागको आग्रह– आवश्यकताभन्दा बढी ग्यास नथुपार्नुस्
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ग्यासको समग्र आपूर्ति सन्तोषजनक रहेको जनाएको छ। विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार केही स्थानमा उच्च मागका कारण वितरणमा अस्थायी दबाब देखिए पनि आयात र आपूर्ति नियमित छ।
उनले केही दिन भारततर्फका नाकामा प्राविधिक समस्याका कारण ढुवानी प्रभावित भए पनि अहिले अवस्था सामान्य भइसकेको बताए। साथै, बजारमा अभावको हल्ला फैलिँदा उपभोक्ताले एकैपटक तीन–चारवटा सिलिन्डरसम्म सञ्चय गर्ने प्रवृत्तिले कृत्रिम अभाव सिर्जना गरेको उनको भनाइ छ।
विभागले कालोबजारी वा ग्यास लुकाएर राखेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिँदै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।
