• Monday 5th of October 2026

तराईमा उत्पन्न तनाव अन्त्य गर्न गृहमन्त्रीद्वारा जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु


  • धनकुटा खबर
  • .

जनकपुर । तराईका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधान गर्ने प्रयासस्वरूप गृहमन्त्री सुधन गुरुङले शनिबार जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थालेका छन्।

गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनासहित आन्दोलनको नेतृत्व गरिरहेका विभिन्न समूहका प्रतिनिधिसँग छलफल अघि बढाएको जनाइएको छ।

साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवकको मृत्यु भएपछि तराईका विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन चर्किएको थियो। त्यसपछि सिरहामा हिन्दु र मुस्लिम समुदायबीच भएको विवाद उग्र बन्दा अवस्था नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो।

बढ्दो तनावलाई नियन्त्रणमा लिन तथा सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ अहिले तराईका जिल्लाको भ्रमणमा छन्। सरकारका अनुसार वार्ता र संवादको प्रक्रिया अघि बढेसँगै केही स्थानको अवस्था क्रमिक रूपमा सामान्य बन्दै गएको छ।

यद्यपि केही जिल्लामा कर्फ्यु हटाइए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा भने पूर्ण रूपमा हटाइएको छैन। सरकारले वार्तामार्फत सामाजिक सद्भाव कायम गर्दै समस्याको दीर्घकालीन समाधान खोज्ने प्रयास जारी राखेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖