• Monday 5th of October 2026

निर्मल ‘निम्स दाइ’ पुर्जा: ‘नथिङ इज इम्पोसिबल’लाई जीवनमा उतार्ने साहसी आरोहीको ब्रोड पिकमै अन्त्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । विश्व पर्वतारोहण क्षेत्रमा ‘नथिङ इज इम्पोसिबल’ भन्ने सन्देशलाई कर्ममार्फत स्थापित गरेका नेपाली पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको पाकिस्तानस्थित ब्रोड पिकमा आएको हिमपहिरोमा निधन भएको छ। उनी संस्थापक रहेको इलाइट एक्सपेडले शनिबार आधिकारिक वक्तव्य जारी गर्दै उनको निधनको पुष्टि गरेपछि विश्व पर्वतारोहण समुदाय शोकमा डुबेको छ।

गत बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली परेको थियो। सोही दुर्घटनामा उनका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि ज्यान गएको कम्पनीले जनाएको छ।

म्याग्दी जिल्लाको दाना गाउँमा जन्मिएका पुर्जाको बाल्यकाल चितवनमा बितेको थियो। भूपू सैनिक परिवारमा हुर्किएका उनी सानैदेखि साहसिक चुनौतीप्रति आकर्षित थिए। सन् २००३ मा १८ वर्षको उमेरमा उनी ब्रिटिस गोर्खा सैनिकमा भर्ना भएका थिए।

छ वर्ष गोर्खा राइफल्समा सेवा गरेपछि उनले अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै ब्रिटिस रोयल नेभीको प्रतिष्ठित स्पेशल बोट सर्भिस (एसबीएस) मा प्रवेश गर्ने पहिलो नेपाली बने। करिब १६ वर्षको सैन्य सेवाका क्रममा उनले अफगानिस्तानलगायतका जोखिमपूर्ण क्षेत्रमा सेवा गरेका थिए। उनको योगदानको सम्मानस्वरूप बेलायती महारानी एलिजाबेथ द्वितीयाले सन् २०१८ मा ‘एमबीई’ सम्मान प्रदान गरेकी थिइन्।

सैन्य जीवन त्यागेर पर्वतारोहणलाई पूर्णकालीन रूपमा अँगालेका पुर्जाले सन् २०१९ मा ‘प्रोजेक्ट पोसिबल १४/७’ सुरु गरेका थिए। उक्त अभियानअन्तर्गत उनले विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए।

उनको जीवन र साहसिक यात्रामा आधारित नेटफ्लिक्सको वृत्तचित्र ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ ले उनलाई विश्वव्यापी रूपमा चिनाएको थियो। सन् २०२१ मा उनले १० सदस्यीय नेपाली टोलीसँग मिलेर पाकिस्तानको के–टु हिमालको पहिलो सफल हिउँदे आरोहण गर्दै अर्को ऐतिहासिक उपलब्धि पनि हासिल गरेका थिए।

पुर्जाको लक्ष्य व्यक्तिगत कीर्तिमानमा मात्र सीमित थिएन। उनले नेपाली शेर्पा तथा पर्वतारोहीलाई अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेतृत्वदायी भूमिकामा स्थापित गर्न निरन्तर प्रयास गरे। आफ्नो कम्पनी इलाइट एक्सपेडमार्फत उनले नेपाली पर्वतारोहीको व्यावसायिक क्षमता र नेतृत्वलाई विश्वसामु स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याए।

पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा पर्ने ब्रोड पिक विश्वकै जोखिमपूर्ण हिमालमध्ये एक मानिन्छ। बिहीबार आएको शक्तिशाली हिमपहिरोले पुर्जाको टोलीलाई चपेटामा पारेको थियो। त्यसपछि ड्रोन सर्वेक्षण तथा उद्धार टोलीमार्फत खोजी अभियान सञ्चालन गरिएको थियो।

इलाइट एक्सपेडले जारी गरेको वक्तव्यमा निर्मल पुर्जासहित दुर्घटनामा ज्यान गुमाएका सबै आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवार र आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

मृत्युलाई पटक–पटक चुनौती दिएर नयाँ इतिहास रच्ने निम्स दाइ यसपटक भने ब्रोड पिकको हिमपहिरोबाट फर्किन सकेनन्। तर उनले स्थापित गरेका कीर्तिमान, नेपाली पर्वतारोहणलाई दिएको नयाँ पहिचान र ‘संसारमा केही पनि असम्भव छैन’ भन्ने प्रेरणादायी सन्देशले आगामी पुस्तालाई अझै लामो समयसम्म मार्गदर्शन गरिरहनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖