काठमाडौँ । स्वस्थ मुटु दीर्घायु र राम्रो जीवनशैलीको आधार हो। तर बदलिँदो जीवनशैली, असन्तुलित खानपान, मानसिक तनाव, अपर्याप्त निद्रा र शारीरिक गतिविधिको कमीका कारण कम उमेरमै मुटुसम्बन्धी समस्या बढ्दै गइरहेका छन्।
विशेषज्ञहरूका अनुसार स्वस्थ आहार र नियमित व्यायाम अपनाएमा मुटुरोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। मुटुको स्वास्थ्यका लागि लाभदायक पाँच खानेकुरा यस्ता छन्–
१. ओट्स
ओट्समा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले यसले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ। दैनिक आहारमा ओट्स समावेश गर्नुका साथै प्रशोधित खाना, ट्रान्स फ्याट, अत्यधिक नुन र चिनीको सेवन कम गर्नु उपयुक्त हुन्छ।
२. ओखर
ओखरमा पाइने स्वस्थ बोसो, ओमेगा–३ फ्याटी एसिड र एन्टिअक्सिडेन्टले मुटुको कार्यक्षमता सुधार गर्न मद्दत गर्छ। नियमित रूपमा सीमित मात्रामा ओखर सेवन गर्नु लाभदायक मानिन्छ।
३. आलस (फ्ल्याक्स सिड)
आलस मुटु, छाला र पाचन प्रणालीका लागि उपयोगी मानिन्छ। यसलाई हल्का भुटेर वा पिसेर दैनिक दुई चम्चासम्म मनतातो पानी वा अन्य परिकारसँग मिसाएर सेवन गर्न सकिन्छ।
४. हरियो पातदार तरकारी
पालुङ्गो, सलगमको पात, कर्कलाको पातलगायत हरियो सागसब्जीमा आवश्यक भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट पाइन्छ। यस्ता तरकारीले मुटु मात्र होइन, सम्पूर्ण शरीरको स्वास्थ्यलाई पनि सहयोग पुर्याउँछन्।
५. दाल तथा गेडागुडी
भटमास, केराउ, सिमी, मास, मुसुरोलगायत दाल तथा गेडागुडीमा प्रोटिन र फाइबर प्रशस्त हुन्छ। यिनको नियमित सेवनले कोलेस्ट्रोल नियन्त्रण गर्न, मुटुको कार्यक्षमता सुधार गर्न र मुटुरोगको जोखिम कम गर्न सहयोग पुर्याउँछ।
स्वस्थ मुटुका लागि खानपान मात्र पर्याप्त हुँदैन। दैनिक कम्तीमा ३० मिनेट हिँड्ने, दौडिने, साइकल चलाउने वा योगजस्ता शारीरिक गतिविधि गर्नाले रक्तसञ्चार सुधार हुन्छ, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ तथा मुटु दीर्घकालसम्म स्वस्थ रहन मद्दत मिल्छ।
