• Monday 5th of October 2026

ढल्केबर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा सांसद यादव सदनमा दिनभर उभिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै प्रतिनिधिसभामा अनौठो शैलीमा विरोध जनाउने घोषणा गरेका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरमा निर्माण हुने भनिएको ट्रमा सेन्टर अर्को स्थानमा सार्न खोजेको आरोप लगाए।

सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले यसको विरोधस्वरूप आफू दिनभर सदनमा उभिएर मौन प्रदर्शन गर्ने बताएका छन्।

‘ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर यो सरकारले सार्न खोजेको छ,’ उनले भने, ‘यसको विरोधमा म आज दिनभर सदनमा उठेर मौन बस्छु।’

सांसद यादवले यसअघिका सरकारले ट्रमा सेन्टर निर्माणका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको उल्लेख गरे। उनका अनुसार सुरुमा २० करोड रुपैयाँ र त्यसपछि थप २ करोड रुपैयाँ बजेट छुट्याएर आयोजना अघि बढाइएको थियो।

बजेट सुनिश्चित भइसकेको र प्रक्रिया अघि बढिसकेको आयोजनालाई राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण अन्यत्र सार्न खोजिएको उनको आरोप छ।

उनले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको उक्त आयोजना सार्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै अन्यथा आफ्नो विरोध जारी रहने चेतावनी दिए।

यस क्रममा सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि सांसद यादव उभिइरहेको जनाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖