• Monday 5th of October 2026

देउवा स्वदेश फर्किने मिति परिवर्तन ,साउन २८ गते फर्किने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको बताएका छन्। उनका अनुसार देउवा अब साउन २८ गते दिउँसो १२ बजे नेपाल आइपुग्ने तय भएको छ।

यसअघि कांग्रेस नेता डा. प्रकाशशरण महतले उपचारका क्रममा हङकङमा रहेका देउवा साउन २६ गते राति नेपाल फर्किने बताएका थिए। तर, पछिल्लो समय फर्किने मिति दुई दिन पछि सारिएको हो।

देउवा फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए। सिंगापुरमा स्वास्थ्य परीक्षण तथा उपचारपछि उनी २०८२ चैत ७ गते हङकङ पुगेका थिए।

स्वदेश फर्किएपछि देउवाले नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संस्थापनइतर समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले साउन २९ गतेदेखि सुरु हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएका थिए।

यसैबीच, देउवा स्वदेश फर्किने तयारी भइरहेका बेला उनीविरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेको विषयमा प्रहरीले रेकर्ड जाँच गरिरहेको जनाएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी भए–नभएकोबारे अभिलेख हेरिरहेको बताए।

देउवा नेपाल फर्किएपछि पक्राउ गर्ने वा अनुसन्धानको दायरामा ल्याउने कुनै आधार छ कि छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा काफ्लेले भने, ‘हामीले यसबारे रेकर्डहरू हेरिरहेका छौँ। के छ, हेरेर आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖