सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
प्रहरीका अनुसार स्कुटरको डिकी, अन्य भाग तथा चालकले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा नेपाली रुपैयाँ ५१ लाख ३४ हजार फेला परेको थियो। बरामद रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५०० रुपैयाँ दरका ३ हजार १०८ थान, १०० रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट रहेका छन्।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का अन्दाजी ५७ वर्षीय जगन्नाथ महतो कोईरी रहेका छन्। उनलाई नियन्त्रणमा लिने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा उनी घाइते भएका थिए।
घाइते महतोको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल मलंगवा लगिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यस्तै, महतोलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रसमेत सामान्य घाइते भएका थिए। उनीहरू प्रादेशिक अस्पताल मलंगवामा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
प्रहरीले बरामद रकम, स्कुटर तथा महतोलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
