• Monday 5th of October 2026

कुलेश्वरमा स्रोत नखुलेको ७६ लाखभन्दा बढी रकमसहित फलफूल पसल सञ्चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, साउन २७ गते । काठमाडौंको कुलेश्वरस्थित फलफूल पसलबाट स्रोत नखुलेको ७६ लाख रुपैयाँभन्दा बढी नेपाली नगद र भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

मिति २०८३ साउन २६ गते दिउँसो करिब १ः४० बजे काठमाडौं महानगरपालिका–१४ कुलेश्वर फलफूल मण्डीस्थित आँचल फ्रुट सेन्टरमा स्रोत नखुलेको हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको कालीमाटी शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले पसल तथा सञ्चालकको डेरा कोठामा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय जितेन्द्र साह तुरहाको साथ तथा कोठाबाट स्रोत नखुलेको नेपाली नगद रु. ७६ लाख २७ हजार ३ सय र भारतीय नगद रु. ३ लाख ४ हजार ३ सय फेला परेको प्रहरीले जनाएको छ।

बरामद रकमसहित साहलाई नियन्त्रणमा लिई हुण्डीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖